लोक आवाज ,
सर्लाही, ४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवकको रहस्यमय अवस्थामा मृत्यु भएको छ । प्रेमिकाको कोठामा अचेत अवस्थामा फेला परेका हरिपुर्वा नगरपालिका–९ बगेवा गाउँका २० वर्षीय अमित चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।
अचेत अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनको मृत्युको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतककी प्रेमिकालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट र अनुसन्धानबाट युवकको मृत्युको वास्तविक कारण खुल्नेछ ।



प्रतिक्रिया !