लोक आवाज ,
महोत्तरी, ४ मंसिर । महोत्तरीको गौशाला नगरपालिका–१ सानो कुशमाडीस्थित उखुबारीमा एक वृद्धा महिलाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
शुक्रबार बिहान स्थानीय ६५ वर्षीया विणामाया पुलामीको शव उखुबारीमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रहरीका अनुसार पुलामी बिहीबार घाँस काट्न भन्दै घरबाट निस्किएकी थिइन् । तर, रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा उनको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माका अनुसार शवको प्रकृति हेर्दा महिलाको हत्या भएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ । उनको घाँटीमा गम्छाले कसेको जस्तो देखिएकाले घटनालाई शंकास्पद रूपमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए ।
घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउन तालिम प्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्युको वास्तविक कारण तथा घटनामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया !