ओलीको आरोप : वर्तमान सरकार गठन प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक

ओलीको आरोप : वर्तमान सरकार गठन प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक

लोक आवाज ,

काठमाडौँ , ५ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक भएको आरोप लगाएका छन्।

एमालेको जनवर्गीय संगठन नेशनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकार आतंक, आगजनी र तोडफोडको आधारमा गठन भएको दाबी गरेका हुन्। उनले देशमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई कमजोर बनाउने काम भइरहेको आरोप लगाए।

ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डरका कारण असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको आरोपसमेत लगाए। प्रधानन्यायाधीश भइसकेका व्यक्ति संविधानको मर्मविपरीत प्रधानमन्त्री बनेको र एकल सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरिएको उनको भनाइ थियो।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भए पनि अदालतले समयमै निर्णय दिन नसकेको उनले बताए। लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी पाएका राज्यका निकायहरूले आफ्नो दायित्व पूरा गर्न नसकेको ओलीको आरोप छ।

उनले अहिले लोकतान्त्रिक संस्थाहरू कानुन र विधिभन्दा पनि आदेशका आधारमा सञ्चालन हुन थालेको टिप्पणी गरे। राज्यका सबै निकाय संविधान र कानुनअनुसार चल्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक तथा संवैधानिक व्यवस्था पुनः स्थापित गर्न युवाहरू संगठित भएर दबाब सिर्जना गर्नुपर्ने बताए।

कार्यक्रममा ओलीले भने, ‘राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो। त्यो सही कुरा हो, साँचो कुरा हो। अनि बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो। असंवैधानिक ढङ्गले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ?’

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार