दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

दैलेखमा बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या, एक छोरा गम्भीर घाइते

लोक आवाज ,

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन्। घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले शनिबार बिहान करिब १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिश्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल पुर्‍याइएको थियो।

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा बिहान ११ः१० बजे १२ वर्षीय तपेन्द्र र तीन वर्षीया करिश्मालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ लगिएकोमा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा गम्भीर घाइते भएका ६ वर्षीय मिलनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटरको दूरीमा रहेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनामा संलग्न अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार