सुनिल साह ,
जनकपुरधाम, ५ मंसिर । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका चन्दन यादव (रामकृष्ण यादव) भारतको बनारसबाट अपहरणमुक्त भएका छन्। प्रतिनिधिसभा सदस्य रामविनोद यादवको पहल तथा नेपाल र भारतका सुरक्षा निकायबीचको समन्वयमा उनलाई अपहरणमुक्त गराउन सफलता मिलेको हो।
शहीदनगर नगरपालिका–२ मतौना निवासी प्रमानन्द यादवका छोरा चन्दन काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत छन्। उनी रहस्यमय परिस्थितिमा सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका थिए।
पर्व मनाउन घर आएका चन्दन पर्व सम्पन्न भएपछि काठमाडौँ फर्किने क्रममा मिति २०८३ मंसिर २ गते बिहान करिब ६ः१५ बजे काठमाडौँ पुगेका थिए। बसबाट ओर्लिएपछि बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी सम्पर्कविहीन भएका थिए।
ट्याक्सी चढ्नुअघि उनले आफ्ना भिनाजुसँग फोनमा कुराकानीसमेत गरेका थिए। सामान्यतया १० मिनेटभित्र कोठा पुग्नुपर्ने भए पनि लामो समयसम्म नपुगेपछि परिवारले खोजतलास सुरु गरेको थियो। पछि उनी अपहरणमा परेको तथ्य सार्वजनिक भएको थियो।
घटनालाई गम्भीरतापूर्वक लिँदै सांसद रामविनोद यादवको पहलमा सम्बन्धित निकायसँग समन्वय र निरन्तर प्रयास गरिएको थियो। सोही प्रयासपछि भारतको बनारसबाट उनलाई अपहरणमुक्त गराउन सफलता प्राप्त भएको जनाइएको छ।
हाल आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी चन्दनलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ।
उनको खोजी तथा उद्धारमा सहयोग गर्ने भारत सरकार, भारतीय प्रहरी प्रशासन, नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषालगायत सम्पूर्ण निकायप्रति सांसद यादवको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरिएको छ।
चन्दनको स्वास्थ्य, सुरक्षा र मनोवैज्ञानिक अवस्थालाई ध्यानमा राख्दै नेपाल फर्किएपछि आवश्यक संरक्षण तथा सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ।



प्रतिक्रिया !