मधेशका नेताको दबाबपछि विमलेन्द्र निधि पुनः सभापतिको उम्मेदवार बन्ने तयारीमा

मधेशका नेताको दबाबपछि विमलेन्द्र निधि पुनः सभापतिको उम्मेदवार बन्ने तयारीमा

लोक आवाज ,
जनकपुरधाम, ४ मंसिर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेशका नेता तथा कार्यकर्ताहरूको दबाबपछि पार्टी सभापतिमा पुनः उम्मेदवारी दिने तयारी थालेका छन् ।

शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले आफूहरू नै वास्तविक कांग्रेस भएको दाबी गर्दै पार्टीलाई विधान र कानुनी प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विधानविपरीत भइरहेको भनिएको महाधिवेशनको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आफूहरू विधानसम्मत ढंगले पार्टीको महाधिवेशन गर्ने पक्षमा रहेको स्पष्ट पारे ।

निधिका अनुसार वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशन सम्पन्न गरेपछि मात्रै राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तयारी छ । यसैक्रममा मधेश प्रदेशको अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशका आठवटै जिल्लाका नेता तथा कार्यकर्ताको सहभागितामा बर्दिबासमा बैठक आयोजना गर्न लागिएको उनले जानकारी दिए ।

उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने जानकारी दिँदै उद्घाटन कार्यक्रम टुँडिखेलमा र निर्वाचनसम्बन्धी कार्यक्रम राष्ट्रिय सभागृहमा सञ्चालन गरिने बताए ।

महाधिवेशनको तयारी तीव्र पारिएको उल्लेख गर्दै निधिले १६५ निर्वाचन क्षेत्रमध्ये १४४ क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको र ७७ जिल्लामध्ये ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको जानकारी दिए । बाँकी क्षेत्रमा पनि अधिवेशन प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा निधिले सातै प्रदेशको अधिवेशन तालिका पनि सार्वजनिक गरे । जसअनुसार गण्डकी प्रदेशको मंसिर ५ गते पोखरा, लुम्बिनीको ७ गते दाङको भालुवाङ, कर्णालीको १३ गते सुर्खेत र मधेश प्रदेशको १४ गते जनकपुरधाममा अधिवेशन हुनेछ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको मंसिर १५ गते धनगढी, कोशी प्रदेशको १७ गते विराटनगर र बागमती प्रदेशको १९ गते काठमाडौंमा प्रदेश अधिवेशन आयोजना गरिनेछ ।

मधेश प्रदेश अधिवेशनको तयारीका लागि बर्दिबासमा आठवटै जिल्लाका जिल्ला सभापति, ३२ निर्वाचन क्षेत्रका प्रतिनिधि तथा केन्द्रीय पदाधिकारी र सदस्यहरूको बैठक बस्ने निधिले बताए । मधेश प्रदेशका संयोजक पद्मनारायण चौधरीसहितको सहभागितामा हुने बैठकले अधिवेशनको तयारी र व्यवस्थापनबारे छलफल गर्नेछ ।

यसैबीच, नेता निधिले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने महत्त्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीको भारत भ्रमण सफलताको शुभकामना दिँदै भ्रमणका क्रममा निर्धारित उद्देश्य हासिल हुने विश्वास व्यक्त गरे । जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सेवा सञ्चालन गर्ने पहललाई सकारात्मक कदमको संज्ञा दिँदै उनले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए ।

निधिले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालनको विषयलाई समेत प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।

धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका जनकपुरधाम र अयोध्याबीच हवाई सेवा सञ्चालन हुन सके पर्यटन प्रवर्द्धनसँगै नेपाल र भारतका नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने उनको विश्वास छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार