सुनिल साह ,
जनकपुरधाम, ११ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश समितिले धनुषाका निलम्बित जिल्ला सभापति लक्ष्मेश्वर यादवसँग विवादास्पद सार्वजनिक अभिव्यक्ति र पार्टी अनुशासन उल्लङ्घनसम्बन्धी विषयमा तीन दिनभित्र लिखित स्पष्टीकरण माग गरेको छ।
प्रदेश समितिले यादवलाई धनुषा जिल्ला पार्टी कार्यालयको साँचोसमेत तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रूपेश खड्काविरुद्ध यादवले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति र त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीले उनीसँग स्पष्टीकरण माग गरेको हो।
रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहद्वारा हस्ताक्षरित पत्रमा यादवलाई पाँचवटा विषयमा तथ्य र प्रमाणसहित लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ।
पत्रमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा व्यक्त विचारको उद्देश्य र सन्दर्भ स्पष्ट पार्न भनिएको छ। साथै, एसपी खड्कालाई लक्षित गरी लगाइएका आरोपको आधार र त्यसलाई पुष्टि गर्ने प्रमाणसमेत पेस गर्न निर्देशन दिइएको छ।
पार्टीको अनुशासन र जिम्मेवारीसँग सम्बन्धित विषयमा स्पष्ट जवाफ माग गर्दै प्रदेश समितिले तोकिएको समयभित्र स्पष्टीकरण पेस गर्न र जिल्ला पार्टी कार्यालयको साँचो बुझाउन यादवलाई निर्देशन दिएको हो।




प्रतिक्रिया !