कोजाग्रत पूर्णिमामा जानकी मन्दिरमा रतौलीबाट ल्याइयो १०८ पाहुर

कोजाग्रत पूर्णिमामा जानकी मन्दिरमा रतौलीबाट ल्याइयो १०८ पाहुर

जनकपुरधाम, ०८ कार्तिक । मिथिलाञ्चलको धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको कोजाग्रत पूर्णिमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। यस अवसरमा महोत्तरीको रतौलीबाट जनकपुरधामस्थित जानकी मन्दिरमा १०८ पाहुर ल्याइएको छ।

प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन रतौलीबाट ल्याइने पाहुरबाट भगवान् सीतारामको चुमाओन गर्ने परम्परा रहिआएको छ। यस वर्ष पनि महोत्तरीको रतौली निवासी स्वर्गीय महेन्द्रप्रसाद ठाकुरको घरबाट विभिन्न पूजासामग्री तथा खाद्यवस्तुसहित पाहुर ल्याइएको हो।

पाहुरमा पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारीलगायतका सामग्रीका साथै भगवान् राम र माता जानकीका लागि वस्त्रसमेत समावेश छन्।

रतौलीबाट जानकी मन्दिरमा पाहुर ल्याउने परम्परा १४२ वर्षदेखि निरन्तर चल्दै आएको नविन ठाकुरले बताए। उनले यस ऐतिहासिक तथा धार्मिक परम्परालाई आगामी पुस्तासम्म निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरे।

कोजाग्रत पूर्णिमाका अवसरमा जानकी मन्दिरमा भजनकीर्तनलगायत विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिन्छन्। पर्वको विशेष आकर्षणका रूपमा हास्यपरिहासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रमले पर्वलाई मनोरञ्जनपूर्ण बनाउनुका साथै मिथिलाको मौलिक सांस्कृतिक पहिचानलाई जीवन्त राख्न सहयोग पुर्‍याउँदै आएका छन्।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार कोजाग्रत पूर्णिमामा आयोजना गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमले पर्वको महत्वलाई थप उजागर गर्ने गरेको छ।

मिथिलाञ्चलमा कोजाग्रत पूर्णिमा नवविवाहित दम्पतीका लागि पनि विशेष महत्वको पर्व मानिन्छ। यस अवसरमा बेहुलाको ससुरालीबाट पाहुर ल्याएर बेहुलाको चुमाओन गर्ने परम्परा छ। चुमाओनका क्रममा विशेष मन्त्र उच्चारण गर्दै बेहुलालाई दुर्वाक्षत प्रदान गरिन्छ। त्यसपछि बेहुलाको घरमा भोजभतेर आयोजना गरी आफन्त तथा इष्टमित्रसँग खुसी साटासाट गर्ने चलन छ।

यस पर्वमा पान र मखान वितरण गर्ने परम्पराले पनि विशेष महत्व राख्छ। धार्मिक आस्था, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावसँग जोडिएको कोजाग्रत पूर्णिमाले मिथिलाञ्चलको विशिष्ट संस्कृति, परम्परा र रीतिरिवाजलाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार