गाउँपालिका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यमा बिहीबार धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको हो।
सम्बन्धित क्षेत्रको जग्गा २०७२ सालमा नापी गरिएको थियो। नापी भएको करिब ११ वर्षपछि प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दाले आफ्नो जग्गाको कानुनी स्वामित्व पुष्टि गर्ने आधार पाएका छन्। यसबाट जग्गासम्बन्धी प्रशासनिक तथा कानुनी कामकाज गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ।
प्रमाणपुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले जग्गाधनी प्रमाणपुर्जा सम्पत्तिको कानुनी स्वामित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण दस्तावेज भएको बताए। उनले आफ्नो जग्गाको स्वामित्वसम्बन्धी अधिकार सुरक्षित राख्न तथा प्रमाणपुर्जाको उचित संरक्षण गर्न स्थानीयलाई आग्रह गरे।
त्यसैगरी, नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले योग्य जग्गाधनीसम्म प्रमाणपुर्जा पुर्याउने उद्देश्यले वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइएको जानकारी दिए। उनले जग्गाधनी प्रमाणपुर्जाले नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका २३३ परिवारले प्रमाणपुर्जा प्राप्त गरेसँगै लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ। यसले स्थानीय बासिन्दालाई आफ्नो सम्पत्तिको स्वामित्व सुरक्षित गर्न र जग्गासम्बन्धी आवश्यक कामकाज अघि बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया !