जनकपुरधाममा ७५ युनिट रगत मौज्दात, नियमित रक्तदान गर्न रेडक्रसको आग्रह,

जनकपुरधाममा ७५ युनिट रगत मौज्दात, नियमित रक्तदान गर्न रेडक्रसको आग्रह,

लोक आवाज ,
जनकपुरधाम, २७ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखा जनकपुरधाममा हाल ७५ युनिट रगत मौज्दात रहेको छ ।

शाखाले मंगलबार सार्वजनिक गरेको रक्त भण्डार विवरणअनुसार ५३ युनिट होल ब्लड र २२ युनिट प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) मौज्दात रहेको हो ।

विवरणअनुसार ए पोजेटिभ (A+) समूहको १० युनिट होल ब्लड र ५ युनिट पीआरबीसी तथा बी पोजेटिभ (B+) समूहको ८ युनिट होल ब्लड र ७ युनिट पीआरबीसी मौज्दात छ । त्यस्तै, ओ पोजेटिभ (O+) समूहको ३० युनिट होल ब्लड र ९ युनिट पीआरबीसी उपलब्ध रहेको छ ।

यसैगरी, एबी पोजेटिभ (AB+) समूहको १ युनिट, बी नेगेटिभ (B-) समूहको २ युनिट, ओ नेगेटिभ (O-) समूहको १ युनिट र एबी नेगेटिभ (AB-) समूहको २ युनिट होल ब्लड मौज्दात रहेको शाखाले जनाएको छ ।

रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले नियमित रक्तदानलाई निरन्तरता दिन रेडक्रसले आम नागरिकलाई आग्रह गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला शाखाका सभापति पंकजकुमार महतोले रक्तदानलाई मानव सेवाको महत्त्वपूर्ण कार्यका रूपमा लिनुपर्ने बताए । उनले स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रक्तदानमा सहभागी हुन आग्रह गर्दै दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगको उपचारका क्रममा बिरामीलाई जुनसुकै समयमा रगत आवश्यक पर्न सक्ने बताए ।

‘रक्तदान जीवन बचाउने महान् मानवीय कार्य हो । रगतको अभाव हुन नदिन सबैले नियमित रूपमा रक्तदान गर्ने संस्कारको विकास गर्नुपर्छ,’ सभापति महतोले भने ।

उनले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै युवापुस्तालाई समेत यस अभियानमा जोड्न आवश्यक रहेको उल्लेख गरे । रक्तदानले आवश्यक परेका बिरामीको जीवन बचाउन सहयोग पुग्ने भएकाले यसलाई सामाजिक उत्तरदायित्वका रूपमा लिनुपर्ने उनको भनाइ छ ।

शाखाले आवश्यकताअनुसार रगतका लागि कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने सन्देशलाई आत्मसात् गर्न सबैमा अपिल गरेको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार