जनकपुरमा ‘प्रतिवैरम्’को प्रेस मिट, चार भाषामा प्रदर्शन हुने,

जनकपुरमा ‘प्रतिवैरम्’को प्रेस मिट, चार भाषामा प्रदर्शन हुने,

नविन सिंह,

जनकपुरधाम,२ कार्तिक । रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रचारप्रसारका लागि शनिबार जनकपुरधामस्थित रघुपति होटलमा प्रेस मिट तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चलचित्रको कथावस्तु, मैथिली गीत ‘मिता रे’ र चलचित्रलाई नेपाली, हिन्दी, मैथिली तथा भोजपुरी गरी चार भाषामा प्रदर्शन गर्ने तयारीबारे जानकारी गराइएको छ।

कार्यक्रममा चलचित्रका निर्माता सत्यराज चौलागाईं, अर्का निर्माता हर्ष कुमार यादव, कार्यकारी निर्माता विक्की साह, निर्देशक रोशन दास, अभिनेता सम्राट दास, अभिनेता बिरेन्द्र सिंह कुशवाहा तथा साउन्ड डिजाइनर दीपेन्द्र साहलगायतको उपस्थिति थियो। कार्यक्रममा निर्माण टिमले नेपाली र मैथिली भाषामा पत्रकारहरूसँग संवाद गर्दै चलचित्रका विभिन्न पक्षबारे जानकारी गराएको थियो।

निर्माण पक्षका अनुसार ‘प्रतिवैरम्’मा मधेशको सामाजिक परिवेश, मौलिक संस्कृति, पारिवारिक सम्बन्ध, अपराध र बदलाको कथालाई प्रस्तुत गरिएको छ। मधेशकै समाज र परिवेशमा आधारित चलचित्र भएकाले स्थानीय दर्शकबाट साथ र सहयोगको अपेक्षा गरिएको निर्देशक तथा निर्माण टिमले जनाएको छ।

मधेशको कथा र संस्कृतिलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिए पनि स्थानीय क्षेत्रबाट अपेक्षाअनुसार सहयोग र समर्थन प्राप्त हुन नसकेको निर्माण पक्षले गुनासो गरेको थियो। चलचित्रलाई दर्शकमाझ पुर्‍याउन पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै निर्माण टिमले प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले पनि चलचित्रको प्रचारप्रसारमा आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसैबीच, चलचित्रको हालै सार्वजनिक मैथिली गीत ‘मिता रे’बारे पनि जानकारी गराइएको थियो। दाजु–बहिनीबीचको आत्मीयता, माया र पारिवारिक सम्बन्धलाई समेटिएको गीतले मधेशको सांस्कृतिक तथा पारिवारिक परिवेशलाई उजागर गर्ने निर्माण पक्षको विश्वास छ।

रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा विभिन्न निर्माण कम्पनीको सहकार्यमा निर्माण भएको चलचित्रको कथा निर्देशक रोशन दासले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन्। चलचित्रमा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ।

नेसनल सिनेमा ग्रुप नेपाल (एनसीजीएन)ले वितरण गर्ने चलचित्र ‘प्रतिवैरम्’ आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। चार भाषामा प्रदर्शन गर्ने योजनासहित निर्माण टिमले मधेशको मौलिक कथा, संस्कृति र सामाजिक यथार्थलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फराकिला दर्शकवर्गसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार