स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटेको छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की,

स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा जुटेको छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की,

लोक आवाज ,

काठमाडौँ , २२ आश्विन । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिरहेको बताएका छन्।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनको मिति सरकारले घोषणा गर्ने र तोकिएको समयमा निष्पक्ष तथा विवादरहित निर्वाचन सम्पन्न गराउने जिम्मेवारी आयोगको रहेको स्पष्ट पारे।

‘हामी आगामी निर्वाचनको तयारीमै छौँ। आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ। निर्वाचनको मिति सरकारले तोक्ने हो। सरकारले तोकेको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो,’ उनले भने।

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्ने गरी सरकार अघि बढेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा प्रमुख निर्वाचन आयुक्त कार्कीले मितिबारे अहिले नै केही भन्न नसकिने बताए। संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो।

उनले लामो समयसम्म स्थानीय तहलाई जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने धारणा व्यक्त गर्दै सोहीअनुसार आयोगले तयारी गरिरहेको जानकारी दिए।

आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले त्यसको आसपासमा संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने गरी तयारी अघि बढाइएको उनले बताए।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्ने विषयमा सोधिएको प्रश्नमा कार्कीले संविधान र कानुनी व्यवस्थाअनुसार नै निर्वाचन प्रक्रिया अघि बढ्ने बताए। निर्वाचन एकैसाथ हुन्छ वा हुँदैन भन्ने विषयमा अहिले नै निष्कर्ष दिन नसकिने उनको भनाइ थियो।

‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुसार नै निर्वाचन हुने हो। त्यसमा आवश्यकताको विषय पनि जोडिन्छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो,’ उनले भने।

आयोगले निर्वाचनको मिति घोषणा भएपछि आवश्यक प्रक्रिया अघि बढाउने जनाउँदै निर्धारित समयमै निष्पक्ष र व्यवस्थित निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार