सन्तानको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलमा जितिया पर्व सुरु,

सन्तानको दीर्घायुको कामना गर्दै मिथिलाञ्चलमा जितिया पर्व सुरु,

लोक आवाज ,

जनकपुरधाम, १६ असोज । मिथिलाञ्चलको प्रमुख लोकपर्व जितिया आजदेखि सुरु भएको छ । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सुख र समृद्धिको कामना गर्दै महिलाहरूले कठोर व्रत बस्ने यो पर्व मिथिला तथा थारु समुदायमा श्रद्धापूर्वक मनाइन्छ ।

तीन दिनसम्म मनाइने जितिया पर्वको पहिलो दिन व्रतालु महिलाहरूले स्नान गरी शुद्ध भएर ‘नहाय–खाय’ विधि पूरा गर्ने परम्परा छ । यस दिन च्यूरा, दहीलगायतका परिकारसँगै स्थानीय परम्पराअनुसार माछा र मरुवा अर्थात् कोदो खाने चलनसमेत रहेको छ ।

जितियाको मुख्य दिन अष्टमीमा महिलाहरूले निराहार तथा कतिपय स्थानमा निर्जला व्रत बस्ने गर्छन् । व्रतका क्रममा थुकसमेत ननिल्ने धार्मिक मान्यता रहेकाले यसलाई मिथिलाञ्चलका कठिन व्रतमध्ये एक मानिन्छ ।

जितिया व्रत अष्टमी तिथिको उदयकाललाई आधार मानेर बस्ने परम्परा रहेको स्थानीय बताउँछन् । अष्टमी दुई दिन परेमा उदयकालमा अष्टमी परेको दोस्रो दिन व्रत बस्ने चलन छ । त्यसपछि नवमीका दिन धार्मिक विधिअनुसार पारण गरी व्रत समापन गरिन्छ ।

जितिया पर्वमा महिलाहरूले भगवान् जिमूतवाहनको पूजा तथा आराधना गर्दै आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शान्ति र समृद्धिको कामना गर्छन् । पर्वसँग जोडिएका धार्मिक मान्यता, लोककथा र सांस्कृतिक अभ्यासले मिथिलाको मौलिक परम्परालाई पुस्तान्तरण गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

पर्व सुरु भएसँगै मिथिला क्षेत्रका गाउँदेखि सहरसम्म चहलपहल बढेको छ । घरघरमा पूजासामग्री जुटाउने तथा आवश्यक तयारी गर्ने क्रम तीव्र भएको छ ।

जितियाले धार्मिक आस्थासँगै मातृत्वको त्याग, पारिवारिक भावनात्मक सम्बन्ध र मिथिलाको सांस्कृतिक पहिचानलाई समेत उजागर गर्ने गरेको स्थानीयको भनाइ छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार