समाजसेवी रमेश महतो सिङ्गरको सराहनीय पहल : १०० भन्दा बढी छठ व्रतालुलाई पूजा सामग्री वितरण

समाजसेवी रमेश महतो सिङ्गरको सराहनीय पहल : १०० भन्दा बढी छठ व्रतालुलाई पूजा सामग्री वितरण

सुनिल साह , जनकपुरधाम, २५ कार्तिक । लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठ पूजा २०८३ को अवसरमा आर्थिक रूपमा विपन्न तथा जरूरतमन्द परिवारका व्रतालुहरूलाई सहयोग गर्ने उद्देश्यले जनकपुरधाममा छठ पूजा सामग्री वितरण गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४, मुजेलियाका समाजसेवी रमेश महतो सिङ्गरले आफ्नो निजी स्रोतबाट वडाका विभिन्न टोलका १०० भन्दा बढी छठ व्रतालुहरूलाई पूजा सामग्री वितरण गरेका हुन्।

मुजेलियास्थित मुसहर टोल, धनकार टोल र महराटोलका व्रतालुहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा प्रत्येक व्रतालुलाई पाँच केजी गहुँ, साया, सारी र ब्लाउजलगायतका सामग्री प्रदान गरिएको थियो।

छठ पर्व सबैका लागि श्रद्धा र उत्साहका साथ मनाउने अवसर बनोस् तथा आर्थिक अभावका कारण कुनै पनि परिवारलाई पर्व मनाउन कठिनाइ नहोस् भन्ने उद्देश्यले व्यक्तिगत खर्चमा सामग्री वितरण गरिएको आयोजक रमेश महतो सिङ्गरले बताए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष पुण्य प्रताप यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले समाजका विपन्न तथा जरूरतमन्द परिवारलाई लक्षित गरी गरिएको यस्तो सहयोगले सामाजिक उत्तरदायित्व, आपसी सद्भाव र सहयोगको भावनालाई थप मजबुत बनाउने बताए।

कार्यक्रममा स्थानीय समाजसेवी, समाजका अगुवा, राजनीतिकर्मी, शिक्षाप्रेमी, पत्रकार तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

सामाजिक सेवामा सक्रिय रहँदै आएका सिङ्गरको यस पहललाई स्थानीयवासीहरूले प्रशंसनीय कार्यका रूपमा लिएका छन्। चाडपर्वको अवसरमा गरिने यस्ता सहयोगले आर्थिक रूपमा कमजोर परिवारलाई राहत पुर्‍याउनुका साथै समाजमा मानवीयता, सामाजिक एकता र सहयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार