हनुमान जयन्तीको अवसरमा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्को आयोजनामा जनकपुरधामस्थित युगलजोडी मन्दिर विहार कुञ्जमा हनुमान चालिसा पाठ, भजनकीर्तन तथा पूजाआजालगायतका कार्यक्रम सम्पन्न भएका छन् ।
यसअघि परिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेसनबाट भव्य शोभायात्रा निकालेको थियो । नगरका विभिन्न भागको परिक्रमा गर्दै निकालिएको शोभायात्रामा मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवसहित विभिन्न क्षेत्रका व्यक्तिहरू तथा श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।
शोभायात्रामा सहभागी सभामुख यादवले भगवान् हनुमान हिन्दु धर्मावलम्बीहरूको घरघरमा श्रद्धापूर्वक पूजा गरिने आराध्य देवता रहेको उल्लेख गर्दै यस्ता धार्मिक कार्यक्रमले सनातन संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
परिषद्का अध्यक्ष शम्भु साहले यमपञ्चककै समयमा हनुमान जयन्ती पर्ने भएकाले यो पर्व अपेक्षाकृत ओझेलमा पर्ने गरेको बताए । हनुमान जयन्तीको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्दै भव्य रूपमा पर्व मनाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
उनका अनुसार परिषद्ले विगत २० वर्षदेखि निरन्तर हनुमान जयन्तीका अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
यसैबीच, जनकपुरधामस्थित प्रसिद्ध संकटमोचन मन्दिरमा पनि बिहानैदेखि दर्शन तथा पूजाआजाका लागि श्रद्धालु भक्तजनहरूको भीड लागेको थियो । भक्तजनहरूले भगवान् हनुमानको विधिपूर्वक पूजाअर्चना गर्नुका साथै हनुमान चालिसा, विभिन्न मन्त्र तथा स्तोत्र पाठ गरेका थिए ।
धार्मिक मान्यताअनुसार भगवान् हनुमानको आराधना गर्नाले शुभ फल प्राप्त हुने, शनिग्रहको प्रतिकूल प्रभाव कम हुने तथा नकारात्मक शक्तिबाट सुरक्षा मिल्ने विश्वास गरिन्छ । त्यस्तै, हनुमानको पूजा गर्नाले पारिवारिक तथा दाम्पत्य जीवन सुखमय हुने र पति–पत्नीबीचको मनमुटाव तथा कलह हट्ने जनविश्वास रहेको छ ।
हनुमान जयन्ती मनाउने तिथिका विषयमा धार्मिक ग्रन्थहरूमा फरक–फरक मत पाइन्छन् । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जन्मोत्सव मनाउने परम्परा रहे पनि कार्तिक कृष्ण चतुर्दशीलाई समेत हनुमान जयन्तीका रूपमा मनाउने चलन छ ।
वायु पुराणलगायतका धार्मिक ग्रन्थमा कार्तिक महिनाको चतुर्दशीसँग सम्बन्धित हनुमान जयन्तीलाई विजय अभिनन्दन महोत्सवका रूपमा व्याख्या गरिएको धार्मिक मान्यता रहेको छ ।



प्रतिक्रिया !