मंगलबार सार्वजनिक गरिएको रक्त भण्डार विवरणअनुसार केन्द्रमा आठवटै रक्त समूहका गरी ८७ युनिट रगत उपलब्ध रहेको हो।
उपलब्ध विवरणअनुसार ए पोजेटिभ २४, बी पोजेटिभ ३५, ओ पोजेटिभ ६, एबी पोजेटिभ १३, ए नेगेटिभ ४, बी नेगेटिभ १, ओ नेगेटिभ ३ र एबी नेगेटिभ १ युनिट रगत मौज्दात छ।
त्यसैगरी, प्याक्ड रेड ब्लड सेल्स (पीआरबीसी) अन्तर्गत ए पोजेटिभ ४ र बी पोजेटिभ ६ गरी थप १० युनिट उपलब्ध रहेको रेडक्रसले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाका सभापति पंकजकुमार महतोले रगतको माग र आपूर्तिबीच सन्तुलन कायम राख्न नियमित रक्तदान आवश्यक रहेको बताएका छन्।
उनले दुर्घटना, प्रसूति सेवा तथा आकस्मिक शल्यक्रियालगायतका अवस्थामा बिरामीलाई समयमै रगत उपलब्ध गराउन रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने बताए।
सभापति महतोले रक्तदानलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण कार्यका रूपमा लिन आग्रह गर्दै स्वस्थ युवा, सामाजिक संघसंस्था तथा विभिन्न समुदायलाई रक्तदान अभियानमा सहभागी हुन अपिल गरे।
उनका अनुसार रगतको आवश्यकता जुनसुकै बेला पर्न सक्ने भएकाले पर्याप्त रक्त भण्डार कायम राख्न सामूहिक प्रयास आवश्यक छ। विशेषगरी आकस्मिक उपचारका क्रममा समयमै रगत उपलब्ध गराउनु बिरामीको जीवन रक्षासँग प्रत्यक्ष जोडिएको विषय हो।
रेडक्रस धनुषा शाखाले ‘रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित नियमित रक्तदान गर्न सर्वसाधारणलाई आह्वान गरेको छ। एक युनिट रगतले पनि कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न शाखाले आग्रह गरेको छ।



प्रतिक्रिया !