सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपको विरोधमा जनकपुरमा पत्रकारको प्रदर्शन

सञ्चारमाध्यममा प्रहरी हस्तक्षेपको विरोधमा जनकपुरमा पत्रकारको प्रदर्शन

सुनिल साह ,

जनकपुरधाम , १४ कार्तिक । सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकडको विरोधमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा पत्रकारहरूले प्रदर्शन गरेका छन्।

नेपाल प्रहरीले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारमाथि गरेको धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा शनिबार पत्रकारहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप तत्काल बन्द गर्न माग गरेका थिए। उनीहरूले स्वतन्त्र पत्रकारितामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे।

पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै सञ्चारमाध्यम र पत्रकारलाई निर्भीक तथा सुरक्षित वातावरणमा काम गर्ने वातावरण सुनिश्चित गर्न राज्यसँग माग गरेका छन्।

राज्यका निकायबाटै सञ्चारमाध्यममाथि हस्तक्षेप हुनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको चुनौती भएको पत्रकारहरूको भनाइ थियो। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नसमेत माग गरेका छन्।

प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको पेसागत सुरक्षाको मागसहित आयोजित उक्त प्रदर्शनमा जनकपुरधामका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार