एनपीएल : काठमाडौं गोर्खाज ११५ रनमै अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य

एनपीएल : काठमाडौं गोर्खाज ११५ रनमै अलआउट, जनकपुरलाई ११६ रनको लक्ष्य

सुनिल साह ,

जनकपुरधाम , १२ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा काठमाडौं गोर्खाजले निराशाजनक ब्याटिङ प्रदर्शन गर्दै ११५ रनमै सबै विकेट गुमाएको छ। पहिलो ब्याटिङ गरेको काठमाडौंले जनकपुरलाई जितका लागि ११६ रनको सामान्य लक्ष्य दिएको छ।

काठमाडौंले निर्धारित २० ओभरको खेल पूरा गर्न सकेन। टोली १९.३ ओभरमा ११५ रन बनाउँदै अलआउट भएको हो। ब्याटरहरूले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा काठमाडौंले प्रतिस्पर्धात्मक स्कोर बनाउन सकेन।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलको सामना गर्दै चार चौका प्रहार गरे। त्यस्तै, रशिद खानले १७ रन र स्मित पटेलले १३ रनको योगदान दिए। अन्य ब्याटरहरूले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टोलीको इनिङ्स ठूलो स्कोरतर्फ अघि बढ्न सकेन।

काठमाडौंलाई सस्तैमा समेट्न जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। उनको प्रभावकारी बलिङले काठमाडौंको ब्याटिङ लाइनअपलाई दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेल्यो।

त्यस्तै, सैफ हसनले दुई विकेट लिए भने मोइन अली, ललित राजवंशी र हरमीत सिंहले समान एक–एक विकेट हात पारे।

काठमाडौंले कमजोर स्कोर बनाएपछि जनकपुर बोल्ट्सले जितका लागि ११६ रनको लक्ष्य पाएको छ। अब जनकपुरले उक्त लक्ष्य पछ्याउँदै खेल आफ्नो पक्षमा पार्ने अवसर पाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार