लोक आवाज ,
जनकपुरधाम, ५ कात्तिक । भारतको बिहार राज्यमा हुने विधान परिषद् सदस्य (एमएलसी) निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका २४ घण्टाका लागि बन्द गरिएको छ ।
बिहारमा अक्टोबर २३ मा विधान परिषद्का आठ सिटका लागि मतदान हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सीमा नाकामा आवागमन रोकिएको हो ।
नेपाल प्रहरीका अनुसार सीमा नाका बन्द गरिएसँगै नेपालबाट भारत जाने तथा भारतबाट नेपाल आउने यात्रुको आवागमन प्रभावित भएको छ । बिहारसँग सीमा जोडिएका नेपाली नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।
निर्वाचनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न तथा सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न दुवै देशका सुरक्षा निकायले सतर्कता बढाएका छन् ।
सीमा नाका बन्द रहने अवधिमा भारत जाने र भारतबाट नेपाल फर्किने यात्रुलाई यात्रा गर्नुअघि सम्बन्धित सुरक्षा निकायसँग आवश्यक जानकारी लिन आग्रह गरिएको छ । सीमा बन्दका कारण अत्यावश्यक कामले यात्रा गर्नुपर्ने व्यक्तिहरूलाई समेत असुविधा हुन सक्ने देखिएको छ ।
बिहीबारदेखि बन्द गरिएको सीमा नाका शुक्रबार बेलुकी ८ बजेसम्म बन्द रहने जनाइएको छ । त्यसपछि सीमा नाकामा आवागमन पुनः सामान्य हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया !