जनकपुरधाम, ०८ कार्तिक । संघीय सरकारका स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणस्थलको स्थलगत निरीक्षण गरेकी छन्।
निर्माणका लागि प्रस्तावित जग्गाको अवस्था र परियोजनाको तयारीबारे जानकारी लिन मन्त्री मेहता आइतबार धनुषाको ढल्केवर पुगेकी हुन्।
सडक दुर्घटनामा परी गम्भीर घाइते हुने बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौंलगायत टाढाका सहर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ट्रमा सेन्टर निर्माणको योजना अघि बढाइएको हो।
ट्रमा सेन्टर सञ्चालनमा आएपछि मधेश प्रदेशमा आकस्मिक तथा गम्भीर प्रकृतिका बिरामीको उपचार सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। विशेषगरी सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बिरामीलाई तत्काल उपचार उपलब्ध गराउन यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
स्थलगत निरीक्षणपछि मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणको काम चाँडै अघि बढाइने बताइन्। उनका अनुसार निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ। अब निर्माण कार्यलाई गति दिँदै परियोजनालाई शीघ्र कार्यान्वयनमा लगिने उनले जानकारी दिइन्।
मन्त्री मेहताले ट्रमा सेन्टर निर्माणको शिलान्याससमेत चाँडै गरिने बताएकी छन्।
ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७ मा रहेको प्रस्तावित निर्माणस्थलका लागि चार बिघा जग्गासमेत प्राप्त भइसकेको छ।
लामो समयदेखि चर्चामा रहेको यो परियोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि मधेश प्रदेशका बिरामीले गम्भीर दुर्घटना तथा आकस्मिक स्वास्थ्य समस्याका बेला सहज रूपमा विशेषज्ञ उपचार सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
विशेषगरी पूर्व–पश्चिम राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेन्टर प्रभावकारी हुने विश्वास गरिएको छ। यसले गम्भीर बिरामीलाई अन्य सहरका अस्पतालमा लैजानुपर्ने बाध्यता कम गर्नुका साथै उपचारमा हुने ढिलाइबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया !