सुनिल साह ,
जनकपुरधाम, ११ कार्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण बिहीबारदेखि नेपालका विभिन्न प्रदेशमा वर्षा तीव्र हुने पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कार्तिक १२ देखि १४ गतेसम्म मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुन सक्नेछ।
महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबारदेखि देशका अधिकांश भूभागमा बादल लाग्ने र वर्षाको क्रम बढ्ने सम्भावना छ। शुक्रबार र शनिबार केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने अनुमान गरिएको छ।
विभागका अनुसार कार्तिक १२ गते बिहीबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। बिहीबार रातिदेखि वर्षाको प्रभाव थप विस्तार हुने सम्भावना छ।
त्यस्तै, कार्तिक १३ गते शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार पनि वर्षाको जोखिम कायम रहने अनुमान छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने र देशभर आंशिक बदली रहने पूर्वानुमान छ।
कमला नदीको जलाधार क्षेत्रमा बाढीको जोखिम
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पनि बाढी, पहिरो तथा अन्य जलजन्य विपद्को जोखिमबारे पूर्वानुमान सार्वजनिक गरेको छ।
केन्द्रका अनुसार कार्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा उल्लेख्य वर्षा हुन सक्नेछ। यसका कारण नदीको जलसतह बढ्नुका साथै पहाडी तथा चुरे क्षेत्रमा आकस्मिक बाढी र तराईका विभिन्न स्थानमा डुबानको जोखिम बढ्न सक्ने देखिएको छ।
बिहीबार र शुक्रबार नारायणी, कोशी, बागमती तथा कमला नदीका जलाधार क्षेत्रमा वर्षाको मात्रा बढ्न सक्ने अनुमान गरिएको छ। शुक्रबार यी नदी तथा तिनका सहायक नदीमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने भए पनि प्रारम्भिक आकलनअनुसार प्रमुख नदीहरूमा खतरा तह पार गर्ने सम्भावना न्यून रहेको केन्द्रले जनाएको छ।
यद्यपि, वास्तविक वर्षाको मात्रा र नदीको अवस्थाअनुसार जोखिम परिवर्तन हुन सक्ने भएकाले नदी किनारका बस्ती, खोला आसपासका क्षेत्र तथा जोखिमयुक्त सडकमा विशेष सतर्कता अपनाउन आवश्यक रहेको छ।
साना नदी तथा खोलामा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई नदी तथा खोला किनारमा नजान र जोखिमयुक्त क्षेत्रबाट सुरक्षित रहन आग्रह गरिएको छ।
किसानलाई धानबाली भित्र्याउन सुझाव
सम्भावित वर्षाबाट कृषि क्षेत्रमा क्षति हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले किसानलाई धानबाली भित्र्याउनेलगायतका कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न सुझाव दिएको छ।
लगातारको वर्षाले धानबालीमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई काटिएको धान सुरक्षित स्थानमा राख्न र आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भएकाले पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न र त्यहाँ रहेका व्यक्तिलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ।
सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने
लगातारको वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, पहाडी सडकमा पहिरो जान सक्ने र तराईका विभिन्न स्थानमा डुबानको समस्या उत्पन्न हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न सुझाव दिइएको छ।
सम्बन्धित निकायले नदी तथा खोला तर्ने, नदी किनारमा जाने र जोखिमयुक्त सडक प्रयोग गर्ने कार्यबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, आधिकारिक मौसम सूचना र स्थानीय प्रशासनको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।
कार्तिक १२ देखि १४ गतेसम्म वर्षा, बाढी, पहिरो तथा हिमपातको जोखिम बढ्न सक्ने भएकाले सर्वसाधारण, किसान, यात्रु र विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन आवश्यक देखिएको छ।




प्रतिक्रिया !