जटही नाकामा नेपाल–भारत सीमा सुरक्षा बैठक, तस्करी र सीमा अपराध नियन्त्रणमा सहकार्य बढाउने,

जटही नाकामा नेपाल–भारत सीमा सुरक्षा बैठक, तस्करी र सीमा अपराध नियन्त्रणमा सहकार्य बढाउने,

लोक आवाज ,

जनकपुरधाम, १६ असोज । धनुषाको जटही नाकामा नेपाल र भारतका सीमा सुरक्षा अधिकारीबीच सीमा अपराध, तस्करी तथा अवैध गतिविधि नियन्त्रणका विषयमा क्रस–बोर्डर बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलको संयोजकत्वमा भएको बैठकमा खुला सीमाबाट हुन सक्ने अवैध ओसारपसार, लागुऔषध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिमाथि निगरानी बढाउने, एक देशमा अपराध गरी अर्को देशमा भाग्ने प्रवृत्ति नियन्त्रण गर्ने तथा सीमापारबाट हुने अवैध वस्तुको ओसारपसार रोक्न आवश्यक सूचना समयमै आदानप्रदान गर्ने विषयमा छलफल गरिएको थियो ।

महानिरीक्षक पौडेलले खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नेपाल र भारतका सुरक्षा संयन्त्रबीच निरन्तर समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको बताए ।

सीमा क्षेत्रमा तस्करी, लागुऔषध कारोबार तथा अन्य गैरकानुनी गतिविधिमाथि संयुक्त रूपमा निगरानी बढाउने र आवश्यकताअनुसार सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) पिपरौनका प्रमुख राजेन्द्रकुमार, सहायक प्रमुख रजनीशकुमार मोरललगायतका अधिकारी सहभागी थिए । जनकपुर भन्सार कार्यालयका प्रतिनिधिको पनि बैठकमा सहभागिता रहेको थियो ।

नेपाल–भारतबीचको खुला सीमाका कारण उत्पन्न हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरणका लागि नियमित सीमा समन्वय बैठकले दुवै देशका सुरक्षा निकायबीच सहकार्य र समन्वय सुदृढ गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन् ।

जटही नाकामा सम्पन्न बैठकलाई सीमा सुरक्षा मजबुत बनाउँदै तस्करी, लागुऔषध कारोबार तथा सीमा अपराध नियन्त्रणका लागि नेपाल–भारत सुरक्षा संयन्त्रबीच सहकार्य बढाउने प्रयासका रूपमा लिइएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार