कांग्रेसको १५औँ महाधिवेशनमा झण्डै ४४ हजार युवा पदाधिकारी, एक लाखभन्दा बढी प्रतिस्पर्धामा,

कांग्रेसको १५औँ महाधिवेशनमा झण्डै ४४ हजार युवा पदाधिकारी, एक लाखभन्दा बढी प्रतिस्पर्धामा,

लोक आवाज,

काठमाडौँ , १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टी संगठनका विभिन्न तहमा झण्डै ४४ हजार युवा निर्वाचित भएका छन्। कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवालाई विभिन्न तहमा पदाधिकारी तथा प्रतिनिधिका रूपमा निर्वाचित गर्ने व्यवस्था गरिएपछि ठूलो संख्यामा युवा नेतृत्वमा आएका हुन्।

कांग्रेस विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ३५ वर्षमुनिका ४३ हजार ९८६ जना युवाले पार्टीका विभिन्न तहमा पदिय जिम्मेवारी पाएका छन्। उनका अनुसार एउटै महाधिवेशनमार्फत यति ठूलो संख्यामा युवाले पदिय जिम्मेवारी पाएको घटना नेपाली राजनीतिक दलको इतिहासमै पहिलो हो।

नयाँ विधानअनुसार देशभरका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जना ३५ वर्षमुनिका युवा क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ। यस आधारमा न्यूनतम २० हजार २२९ जना युवा निर्वाचित हुने भए पनि क्रियाशील सदस्यताको संख्याका आधारमा प्रत्येक वडाबाट तीनदेखि सात जनासम्म निर्वाचित हुने व्यवस्था छ।

औसतमा प्रत्येक वडाबाट पाँच जना युवा निर्वाचित भएको आधारमा करिब ३३ हजार ७१५ जना युवा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएको कांग्रेसले जनाएको छ।

त्यस्तै, गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। गाउँपालिकाका ३ हजार २१५ वडाबाट ३ हजार २१५ जना तथा नगरपालिकाका ३ हजार ५२८ वडाबाट ७ हजार ५६ जना गरी थप १० हजार २७१ जना युवा वडा सदस्य बनेका छन्।

यसरी क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ र वडा सदस्य १० हजार २७१ गरी कुल ४३ हजार ९८६ जना युवाले पार्टीमा औपचारिक जिम्मेवारी पाएका हुन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार निर्वाचित हुने संख्याको तुलनामा कम्तीमा दोब्बर प्रतिस्पर्धी रहेकाले महाधिवेशनमा झण्डै एक लाख युवाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए।

क्षेत्रीय प्रतिनिधिबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन हुने व्यवस्था छ। प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना निर्वाचित हुने व्यवस्था गरिएको छ।

यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुनेछन्।

नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था छ। सातै प्रदेशको कार्यसमितिमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहनेछन्।

केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवती गरी कुल १४ जना युवा प्रवेश गर्ने व्यवस्था गरिएको छ।

युवालाई पार्टीको विभिन्न तहमा ठूलो संख्यामा जिम्मेवारी दिइनु र ठूलो संख्यामा युवाले उम्मेदवारी दिनुले कांग्रेस संगठनमा युवा सहभागिता बढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताएका छन्।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार