सुनिल साह,
जनकपुरधाम , १५ असोज । नेपाल रेडक्रस सोसाइटी श्री जानकी आँखा अस्पताल, जनकपुरधामका कर्मचारीहरूले केन्द्रीय तहबाट भइरहेको भनिएको राजनीतिक हस्तक्षेप, अनावश्यक दबाब तथा संस्थागत गतिविधिमा हस्तक्षेपको विरोधमा कालोपट्टी बाँधेर विरोध जनाएका छन्।
कर्मचारीहरूले अस्पतालको प्रशासनिक तथा व्यवस्थापकीय निर्णय संस्थाका नियम, प्रचलित कानुन, पेशागत मर्यादा र अस्पतालको हितलाई आधार बनाएर हुनुपर्ने माग गरेका छन्। स्वास्थ्य सेवा प्रवाहमा असर पार्ने कुनै पनि राजनीतिक दबाब वा हस्तक्षेप अन्त्य गरी कर्मचारीलाई स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न उनीहरूले आग्रह गरेका छन्।
विरोधका क्रममा कर्मचारीहरूले अस्पतालका विगतका गतिविधि तथा निर्णयको निष्पक्ष समीक्षा गर्नुपर्ने, संस्थागत प्रक्रिया थप सुदृढ बनाउनुपर्ने र कर्मचारी तथा केन्द्रीय व्यवस्थापनबीच पारदर्शी संवादको वातावरण निर्माण गर्नुपर्ने मागसमेत राखेका छन्।
कर्मचारीहरूले अस्पताल सञ्चालनमा व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा बिरामीको हित, गुणस्तरीय स्वास्थ्य सेवा, संस्थागत सुशासन, पेशागत मर्यादा तथा दीर्घकालीन संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
उनीहरूले आफूहरूको विरोध कुनै व्यक्ति वा समूहविरुद्ध लक्षित नभएको स्पष्ट पार्दै अस्पतालमा पारदर्शिता, संस्थागत विधि र पेशागत वातावरण कायम गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताएका छन्।



प्रतिक्रिया !