लोक आवाज ,
बागलुङ, १३ असोज । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ निवासी ७९ वर्षीया नरमाया रोका रहेका छन्।
पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँले जानकारी दिए। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
अविरल वर्षासँगै जिल्लाका विभिन्न क्षेत्रमा बाढीपहिरो र डुबानका घटना भएका छन्। विपद्का घटनामा परी हालसम्म १२ जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो। त्यस्तै, आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। सोही दिन निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षा निरन्तर भइरहेकाले जिल्लाका विभिन्न क्षेत्रमा थप पहिरो तथा बाढीको जोखिम रहेकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया !