लोक आवाज ,
जनकपुरधाम, १६ असोज । कमला नदी तथा यसको जलाधार क्षेत्र संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामदेखि भारतको देहरादुनसम्म ५२ दिने अन्तर्राष्ट्रिय साइकल यात्रा सुरु भएको छ ।
कमला जलाधार संरक्षण अभियान ‘कमला बचाउ अभियान’को आयोजनामा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट सुरु भएको साइकल यात्राको उद्घाटन मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले गरेका हुन् ।
साइकल यात्राको नेतृत्व भारतीय पर्यावरण अभियन्ता अनिल प्रकाश जोशीले गर्नेछन् । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख लाभले पर्यावरण तथा नदी संरक्षणको अभियानमा जोशीले नेतृत्वदायी भूमिका निर्वाह गर्नु प्रशंसनीय रहेको बताए ।
जनकपुरधामबाट सुरु भएको यात्रा भारतका विभिन्न राज्य हुँदै देहरादुन पुगेर सम्पन्न हुनेछ । आयोजकका अनुसार यात्राका क्रममा बिहार, झारखण्ड, राजस्थान र उत्तर प्रदेशलगायतका क्षेत्र हुँदै देहरादुन पुग्ने कार्यक्रम छ ।
यात्राका क्रममा कमला नदी र यसको जलाधार क्षेत्रको संरक्षणका साथै नदी, जलस्रोत र वातावरणको महत्वबारे नेपाल तथा भारतका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
कमला नदीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका समुदायलाई संरक्षण अभियानमा सहभागी गराउने, जल तथा पर्यावरण संरक्षणबारे जनस्तरमा संवाद बढाउने र नेपाल–भारतबीचको सांस्कृतिक तथा पर्यावरणीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसमेत यात्राको रहेको आयोजकले जनाएको छ ।
कमला नदी नेपाल र भारतका विभिन्न भू–भाग हुँदै बग्ने भएकाले यसको संरक्षणका लागि सीमापार सहकार्य आवश्यक रहेको सन्देशसमेत साइकल यात्रामार्फत प्रवाह गरिने आयोजकको भनाइ छ ।

५२ दिनसम्म सञ्चालन हुने यात्राले कमला नदीको संरक्षण, जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा वातावरण संरक्षणलाई नेपाल–भारतको साझा सरोकारका रूपमा अघि बढाउन योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।



प्रतिक्रिया !