लोक आवाज,
जनकपुरधाम, ०९ असोज । जनकपुरधाममा प्रस्तावित रामजानकी रंगशाला निर्माणको काम चालु आर्थिक वर्षदेखि नै अघि बढाउने गरी बहुवर्षीय बजेट सुनिश्चित गर्ने निर्णय भएको छ ।
रंगशाला निर्माणका लागि प्रत्येक आर्थिक वर्ष २५ करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।
धनुषा क्षेत्र नं–३ का सांसद मनिष झाले जनकपुरधामको विकास तथा स्थानीय युवाको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले अघि सारिएको रामजानकी रंगशाला निर्माणको योजना अब कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका छन् ।
उनका अनुसार रंगशाला निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित हुनु जनकपुरधामका युवाका लागि महत्वपूर्ण उपलब्धि हो । “यसै आर्थिक वर्षदेखि रामजानकी रंगशाला निर्माण गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष २५ करोड रुपैयाँका दरले लगानी हुनेछ,” उनले भने ।
सांसद झाले रंगशाला निर्माणसँगै जनकपुरधाममा अतिक्रमणमा परेका सार्वजनिक जग्गा खाली गराउने कामसमेत अघि बढाइएको जानकारी दिए । सार्वजनिक सम्पत्तिको संरक्षणका साथै जनकपुरधामका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
उनका अनुसार जनकपुरधामलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ भने जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहलसमेत अगाडि बढाइएको छ ।
जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सम्पदा संरक्षणसम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको झाले बताए ।
रामजानकी रंगशाला निर्माण, सार्वजनिक जग्गाको संरक्षण तथा जनकपुरधामका ऐतिहासिक सम्पदाको संरक्षण र विश्व सम्पदा सूचीकरणको पहललाई समग्र विकास योजनाका रूपमा अघि बढाइएको उनको भनाइ छ ।
बहुवर्षीय बजेट सुनिश्चित भएसँगै रामजानकी रंगशाला निर्माणको भौतिक प्रक्रिया यसै आर्थिक वर्षदेखि अघि बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया !