सुनिल साह ,
जनकपुरधाम, २७ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकीकरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। आइतबार दुवै दलबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर भएसँगै एकतालाई संस्थागत गर्ने सहमति बनेको हो।
सम्झौताअनुसार एकीकरणपछि बन्ने दलको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल नै रहनेछ। नयाँ पार्टी संरचनामा लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पार्टी संरक्षकको भूमिका दिने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पार्टी अध्यक्षको जिम्मेवारी प्रदान गर्ने सहमति भएको छ।
एकीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिने छ। समितिले पार्टीको संगठनात्मक एकता, नीतिगत समायोजन तथा भावी कार्यदिशा तय गर्ने जिम्मेवारी पाउनेछ। साथै, सोही समितिअन्तर्गत ११ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था पनि सम्झौतामा उल्लेख गरिएको छ।
सम्झौतामा संगठनात्मक एकता, नेतृत्व व्यवस्थापन, नीति तथा कार्यक्रमको समायोजन र पार्टी सञ्चालनका आधारभूत मापदण्डसम्बन्धी विषय समेटिएका छन्। एकतापछि मधेस केन्द्रित राजनीतिलाई थप सशक्त बनाउने, संघीयता, समावेशिता र पहिचानका मुद्दामा संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता समेत जनाइएको छ।
नेताहरूका अनुसार विगतका विभाजन र असहमतिका कारण कमजोर बनेको मधेशी राजनीतिलाई पुनः एकताबद्ध र प्रभावकारी बनाउने उद्देश्यले यो पहल गरिएको हो। एकताले राष्ट्रिय राजनीतिमा पार्टीको भूमिका बलियो बनाउने तथा आगामी निर्वाचन र राजनीतिक संघर्षमा संयुक्त रूपमा प्रस्तुत हुने आधार तयार गर्ने विश्वास व्यक्त गरिएको छ।


सम्झौतापछि दुवै दलका शीर्ष नेताहरूले पार्टी एकताले कार्यकर्ता र समर्थकमा नयाँ उत्साह पैदा गरेको प्रतिक्रिया दिएका छन्। उनीहरूले एकीकरण प्रक्रियालाई छिट्टै औपचारिक रूप दिने, संगठनात्मक संरचना विस्तार गर्ने र जनताका मुद्दामा केन्द्रित कार्यक्रम अघि बढाउने बताएका छन्।




प्रतिक्रिया !