काठमाडौं , १४ फागुन । महाशिवरात्रिको अवसरमा बागमती नदीमा मेलम्चीको पानीको बहाव बढाइएको छ। मेलम्ची खानेपानी विकास समितिले बागमतीमा प्रतिसेकेन्ड १ हजार लिटर मेलम्चीको पानी बगाएको हो। समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार सामान्य समयमा पनि बागमतीमा प्रतिसेकेन्ड ६ सय लिटर मेलम्चीको पानी बगाइन्छ।
हाल मेलम्ची आयोजनाले प्रतिदिन २३ करोड लिटर पानी ल्याइरहेको छ, जुन आयोजनाको प्रारम्भिक लक्ष्य १७ करोड लिटरभन्दा बढी हो। लामिछानेका अनुसार मेलम्चीले शिवरात्रिमा मात्रै नभएर अन्य पर्वहरू र दैनिक रूपमा पनि बागमतीमा पानीको बहाव बढाउन निरन्तर सहयोग गर्दै आएको छ।
शिवरात्रिका लागि बिहीबार बिहान ८ बजेसम्म मेलम्चीको पानी बागमतीमा छोडिनेछ। गत वर्षको शिवरात्रिमा एकीकृत बागमती सभ्यता विकास समितिले धाप ड्यामबाट बागमतीमा पानी बगाएको थियो। धाप ड्याम वर्षातको समयमा पानी संकलन गर्ने र हिउँदको समयमा बागमतीमा पानी छाड्ने उद्देश्यले निर्माण गरिएको हो। हिउँदको समयमा यहाँबाट प्रतिसेकेन्ड ४ सय लिटर पानी बागमतीमा बगाउने लक्ष्य राखिएको छ।



प्रतिक्रिया !