बलात्कार पछि हत्या प्रकरण: इनिशा बिक घटनाको अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

बलात्कार पछि हत्या प्रकरण: इनिशा बिक घटनाको अनुसन्धान सकियो, प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

लोक आवाज ,
सुर्खेत, ११ चैत – सुर्खेतकी १६ वर्षीया इनिशा बिकको बलात्कारपछि हत्या गरिएको भनिएको घटनामा प्रहरीले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्मा का अनुसार घटनासँग सम्बन्धित तथ्य र प्रमाणहरूको सूक्ष्म अध्ययनपछि अनुसन्धान प्रतिवेदन पेश गरिएको हो। केही प्राविधिक रिपोर्टहरू आउन बाँकी भए पनि हालसम्म प्राप्त सबै विवरण समेटेर प्रतिवेदन बुझाइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार अब उक्त प्रकरण न्यायिक प्रक्रियामा प्रवेश गरेको छ। अनुसन्धानका क्रममा संकलित प्रमाण, आरोपितहरूको बयान तथा अन्य तथ्यहरूको आधारमा प्रतिवेदन तयार पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहनजंग बुढथापा ले बताए।

घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो। उनीहरूविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा कारबाहीको मागसहित प्रतिवेदन तयार गरिएको छ। अनुसन्धानबाट चारै जनाको संलग्नता खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले वैज्ञानिक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), पोलिग्राफ परीक्षण, सीडीआर विश्लेषण लगायतका विधिहरू प्रयोग गरेको थियो। साथै, मोबाइल डाटा, भजाइनल स्वाब परीक्षण, टक्सिकोलोजिकल तथा बायोसेरोलोजिकल परीक्षणसमेत गरिएको छ।

यद्यपि, घटनालाई लिएर पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन्। घटना भएको १८ दिन बितिसक्दा पनि शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।

एक आरोपित नाबालकले भने मृतकसँग पहिलेदेखि प्रेम सम्बन्ध रहेको र सहमतिमा शारीरिक सम्पर्क भएको दाबी गरेको छ। तर घटनापछि अवस्था जटिल बनेको प्रहरी अनुसन्धानमा उल्लेख छ।

पोस्टमार्टम रिपोर्टअनुसार अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। फागुन २३ गते सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी इनिशा वीरेन्द्रनगरस्थित उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्।

घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै देशभर प्रदर्शन भइरहेका छन् भने कर्णाली प्रदेशसभामा समेत यस विषयमा आवाज उठाइएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार