लोक आवाज ,
सप्तरी, ९ चैत। सप्तरी को सुरुंगा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका बेपत्ता भएपछि घटना रहस्यमय बनेको छ।
बालिका ७ महिनाकी गर्भवती रहेको दाबी गर्दै आफन्तले ‘संरक्षक’को रूपमा रहेका व्यक्तिसहित चारजनाविरुद्ध जबर्जस्ती करणीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन्।
गत सातादेखि सम्पर्कविहीन भएकी ती बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी ले तीव्रता दिएको जनाएको छ। आफन्तका अनुसार सानै उमेरमा आमाबुवा गुमाएकी बालिकालाई स्थानीय महेश्वर यादवले पालनपोषण गर्ने भन्दै करिब एक दशकअघि आफ्नो घरमा राखेका थिए।
तर, पढाइको व्यवस्था नगरी घरेलु काममा लगाइएको र यसबीचमा यौन शोषण गरी गर्भवती बनाइएको आरोप उजुरीमा उल्लेख गरिएको छ। बालिकाकी भाउजुले दिएको जाहेरीमा महेश्वर यादव, उनका छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।
घटनापछि बालिका कहाँ छन् भन्नेबारे स्पष्ट जानकारी नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा उनलाई वडा नं. ४ कनकपुर मुसहरी टोलमा बस्ने दिदीले लगेका भनिए पनि त्यहाँ पनि नभेटिएको र आरोपितहरू समेत फरार रहेकाले घटना थप जटिल बनेको छ।
प्रहरी प्रवक्ता डम्बरबहादुर पुरी का अनुसार बेपत्ता र जबर्जस्ती करणीसम्बन्धी उजुरी दर्ता भइसकेको छ। बालिकाको अवस्थाबारे यकिन हुन नसकेको र खोजतलास तीव्र पारिएको उनले बताए।
बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि घटनाको प्रकृति अनुसार थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
स्थानीय जनप्रतिनिधिहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। किरणकुमार पोखरेल ले दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै निर्दोषलाई फसाउन नहुने बताएका छन्।
बालिकाका दिदीहरू समेत सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ। घटना संवेदनशील र गम्भीर भएकाले सबै पक्षको खोजी तथा अनुसन्धान भइरहेको बताइएको छ।



प्रतिक्रिया !