सुनिल साह ,
महोत्तरी, २९ माघ । महोत्तरीको मटिहानी नगरपालिका–४ मझौरामा ट्याक्टरको रोटाभेटरमा परेर दुई बालिकाको मृत्यु भएको छ।
बिहीबार दिउँसो खेत जोत्ने क्रममा भएको दुर्घटनामा ७ र ८ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार मटिहानी–४ निवासी गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको थियो। सोही क्रममा स्थानीय ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहा नगरपालिका–११ मरडा निवासी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन ट्याक्टरमा चढेका थिए।
प्रहरीका अनुसार ट्याक्टरबाट खस्ने क्रममा दुवै बालिका पछाडि जडान गरिएको रोटाभेटरमा परेका थिए, जसका कारण उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। ट्याक्टरका धनी मटिहानी–४ का ४२ वर्षीय फुल महम्मद रहेको प्रहरीले जनाएको छ।
फरार चालकको खोजी कार्य तीव्र पारिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया !