लोक आवाज ,
सिरहा , २० माघ । भारतको बिहारमा जागिर लगाइदिने प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–७ भेडियाका २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका–११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले कल्याणपुर नगरपालिका–७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत सम्पर्क गरी भारतको गयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो जागिर लगाइदिने आश्वासन दिएका थिए। गत पुस २० गते मरिकलाई भारतको बोधगया पुर्याई एउटा होस्टलमा बन्धक बनाइएको थियो।
बन्धक बनाएपछि प्रतिवादीहरूले मरिकको मोबाइल फोन र शैक्षिक प्रमाणपत्र खोसेर कोठामा थुनी कुटपिट तथा मानसिक यातना दिएका थिए। ज्यान मार्ने धम्की दिँदै उनका परिवारजनबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुल गरिएको र मरिकसँग रहेको ३० हजार भारतीय रुपैयाँ नगद समेत लुटिएको प्रहरीले जनाएको छ।
पछि तालिमको नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल फर्किन सफल भएका थिए। उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए। पक्राउ परेका दुवैमाथि शरीर बन्धकसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया !