सुनिल साह ,
जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘परिवर्तनको उदघोष’ सभामा पार्टीका वरिष्ठ नेता बालेन साहले मैथिली भाषामा भावनात्मक सन्देशसहित सम्बोधन गरेका छन्।
भाषणको सुरुवातमै ‘नमस्कार ! केना कि है त ?’ भन्दै उनले जनकपुरधाममै विश्वकै सबैभन्दा प्रसिद्ध विवाह सम्पन्न भएको स्मरण गराउँदै डेस्टिनेशन वेडिङका लागि बाहिर जानुपर्ने मानसिकताप्रति असन्तोष व्यक्त गरे। जानकी माताको महिमा र जनकपुरधामको सम्भावनालाई जोड दिँदै उनले जानकी माताको एक्लै क्षमताले नै करोडौँ पर्यटक भित्र्याउन सक्ने दाबी गरे।
बालेनले मधेशमा पहिलोपटक सबै जात–समुदायका मानिसहरू एकै ठाउँमा जुटेको उल्लेख गर्दै देशको विकास भनेको सबै जात र समुदायको समान विकास हुनुपर्ने बताए। प्रदेशलाई अझ मजबुत बनाउनुपर्नेमा पनि उनले जोड दिए।
काठमाडौं केन्द्रित राजनीतिप्रति कटाक्ष गर्दै उनले भने, ‘अधिकार माग्न काठमाडौं जानु पर्दैन, पशुपति घुम्न जानुस।’ काठमाडौंमा दैनिक रूपमा उखु किसान र मिटरब्याज पीडितको आन्दोलन चलिरहेको स्मरण गराउँदै आफू प्रधानमन्त्री बने ती समस्या समाधान गर्ने दाबी पनि गरे।
समाजवादको व्याख्या गर्दै बालेनले भने, ‘विद्यार्थीले कलेजमा निःशुल्क पढ्न पाउनु, अस्पतालमा निःशुल्क उपचार पाउनु नै समाजवाद हो।’ यस्तो व्यवस्था सबै प्रदेश र पालिकामा आवश्यक रहेको उनको भनाइ थियो।
आफ्नो राजनीतिक अवस्थाबारे खुल्दै उनले भने, ‘पहिलोपटक भाषण यसकारण दिँदैछु कि अब म मेयरबाट राजीनामा दिएर फुर्सदमा छु।’ साथै उनले मधेशी प्रधानमन्त्री बन्नकै लागि नभई सही सरकार बनाउन घण्टी चिन्हमा मत आवश्यक रहेको बताए।
मैथिली भाषामा गरिएको बालेन साहको सम्बोधनले सभामा उपस्थित कार्यकर्ता र समर्थकहरूलाई उत्साहित बनाएको थियो।




प्रतिक्रिया !