सुनिल साह ,
जनकपुरधाम , ०१ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली स्थानीय नेता तथा जनकनन्दनी गाउँपालिका वडा नम्बर–३ का अध्यक्ष एवम् २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका प्रत्यासी विजय पासवान नेकपा (एमाले) मा प्रवेश गरेका छन् । पासवानसँगै जसपा वडा कमिटी अध्यक्ष सूर्यनारायण ठाकुर, वडा सदस्यका प्रत्यासी विश्वेश्वर ठाकुरसहित दर्जनौँ नेता तथा कार्यकर्ताले एमालेको सदस्यता ग्रहण गरेका हुन् ।
जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया र केन्द्रीय सदस्य एवं मधेश प्रदेश सांसद लखन दासले नवप्रवेशी नेताहरूलाई गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
पार्टी प्रवेशपछि बोल्दै विजय पासवानले नेकपा एमाले राष्ट्रियता, सुशासन र विकासको एजेन्डामा स्पष्ट र जनमुखी पार्टी भएको दाबी गरे । एमालेको विचार, नीति र नेतृत्वले आम नेपाली जनताको हितमा काम गर्दै आएको भन्दै आफू सोही उद्देश्यसहित एमालेमा आबद्ध भएको उनले बताए । “देश र समाजलाई सही दिशामा अघि बढाउन सक्षम पार्टी एमाले भएकाले म यसमा आबद्ध भएको हुँ,” पासवानले भने ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री उमाशंकर अरगरियाले मधेशमा एमालेप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरे । जनताको विश्वास एमालेतर्फ बढिरहेको प्रमाण आजको प्रवेश कार्यक्रम भएको उनको भनाइ थियो । प्रदेश सांसद लखन दासले पनि एमालेले सबै वर्ग, जाति र समुदायको समान अधिकार र विकासका लागि काम गर्दै आएको बताए ।
स्थानीय तहमा प्रभाव राख्ने नेताहरू एमालेमा प्रवेश गरेसँगै जनकनन्दनी गाउँपालिका क्षेत्रमा राजनीतिक समीकरण बदलिने संकेत देखिएको छ ।




प्रतिक्रिया !