लोक आवाज ,
सप्तरी, २९ पुष । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा स्वास्थ्यकर्मीहरूले औषधि वितरणमा अनियमितता भइरहेको आरोप लगाएका छन्। नगरपालिकाका सबै स्वास्थ्यचौकीमा औषधि निकासा प्रक्रिया पूरा नगरी मात्र बुझाउने गरिएको दाबी गर्दै उनीहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।
स्वास्थ्य शाखाका सहसंयोजक महेश पण्डितका अनुसार डाक्नेश्वरी नगरपालिकाभित्र रहेका ११ वटै स्वास्थ्यचौकीमा औषधि निकासा अभिलेख बिना नै औषधि बुझाइएको छ। उक्त विषयमा आपत्ति जनाउँदै औषधि भर्ना गराउन खोज्दा सम्बन्धित निकायले अस्वीकार गरेपछि १२ जना स्वास्थ्यकर्मीको आन्तरिक सरुवा गरिएको उनले बताए।
यस विषयमा असन्तुष्टि जनाउँदै स्वास्थ्यकर्मीहरूले मंगलबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलसमक्ष ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले आफ्नो सरुवा राजनीतिक दबाब र षड्यन्त्रपूर्वक गरिएको आरोप लगाउँदै सरुवा आदेश तत्काल खारेज गर्न माग गरेका छन्। साथै औषधि खरिद तथा वितरण प्रक्रियामा देखिएको भनिएको अनियमिततामाथि निष्पक्ष छानबिन हुनुपर्ने उनीहरूको माग छ।
तर, प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले स्वास्थ्यकर्मीहरूले लगाएको आरोप अस्वीकार गरेका छन्। उनले स्वास्थ्यकर्मीहरूको सरुवा प्रचलित नियम र कार्यविधिअनुसार गरिएको दाबी गर्दै औषधि वितरणमा कुनै अनियमितता नभएको स्पष्ट पारे।
यसैबीच, स्वास्थ्यकर्मीहरूले औषधि खरिद र बिक्री प्रक्रियामा गम्भीर अनियमितता भइरहेको दाबी दोहोर्याउँदै यदि सम्बन्धित निकायले छानबिन तथा कारबाही प्रक्रिया अघि नबढाएमा चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। यस घटनाले नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापनप्रति प्रश्न उठाएको छ।




प्रतिक्रिया !