ऐलानी जग्गा विवादले उग्र रूप लिँदा नक्टाझिजमा झडप, एक दर्जनभन्दा बढी घाइते

ऐलानी जग्गा विवादले उग्र रूप लिँदा नक्टाझिजमा झडप, एक दर्जनभन्दा बढी घाइते

सुनिल साह,

जनकपुरधाम, २६ पुष । धनुषा जिल्लाको मिथिला नगरपालिका–२ नक्टाझिज सुखजोरमा ऐलानी जग्गा कब्जाको विषयलाई लिएर उत्पन्न विवाद झडपमा परिणत हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

सतलोक आश्रमले ऐलानी जग्गा अतिक्रमण गरेको आरोप लगाउँदै स्थानीय बासिन्दा जग्गा खाली गराउन पुगेपछि आश्रमका अनुयायी र स्थानीयबीच विवाद सुरु भएको थियो। विवाद क्रमशः उग्र बन्दै दुवै पक्षबीच ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ।

झडपमा घाइते भएका सबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेहरूको अवस्था हाल खतरामुक्त रहेको छ।

घटनाका कारण जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा केही समय यातायात अवरुद्ध भएको थियो। प्रहरीको हस्तक्षेपपछि स्थिति नियन्त्रणमा आएको र सडक यातायात पुनः सुचारु भइसकेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर जग्गासम्बन्धी विवाद र झडपको वास्तविक कारणबारे जानकारी संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार