लोक आवाज ,
काठमाडौँ , ०१ पुष । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र श्रमिकलाई सुरक्षित निर्णयमा सहयोग पुर्याउने उद्देश्यसहित ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव डा. कृष्णहरी पुस्करले पुस ८ गतेदेखि उक्त सेल औपचारिक रूपमा सञ्चालनमा ल्याइने जानकारी दिए। अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर प्रणाली सुरु गर्न लागिएको उनले बताए।
सचिव पुस्करका अनुसार देशभरका ७५३ स्थानीय तहमा रहेका रोजगार सूचना केन्द्र, सातै प्रदेशका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग तथा समाधान कल सेन्टरलाई समेटेर ‘हेल्प टु हेल्प १० सेल’ स्थापना गरिँदैछ। यी सबै निकायबाट कार्यालय समयभित्र सेवा लिन सकिनेछ।
उनले सेल स्थापनाका तीन मुख्य उद्देश्य उल्लेख गर्दै श्रमिकले राज्यका आधिकारिक सूचनालाई आधार मानेर निर्णय गर्न सकून्, डिजिटल माध्यममार्फत फैलिने ठगी र झुटा प्रलोभनबाट जोगिन सकून् र वैदेशिक रोजगारीलाई पूर्ण रूपमा सुरक्षित बनाउने लक्ष्य रहेको बताए।
पछिल्लो समय टिकटक, फेसबुक र रिल्समार्फत ‘यति पैसा कमाइन्छ’ वा ‘फलानो देश सजिलै पठाइदिन्छौँ’ भन्ने भ्रमपूर्ण प्रचार बढेकाले त्यसबाट श्रमिकलाई जोगाउन यो प्रणाली प्रभावकारी हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।
‘हेल्प टु हेल्प १० सेल’ मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकले १० वटा प्रमुख प्रश्नका उत्तर प्राप्त गर्न सक्नेछन्। जसमा रोजगारीको माग भएका देश, आधिकारिक म्यानपावर कम्पनी, आवश्यक योग्यता, उमेर, तालिम, स्वास्थ्य अवस्था, लाग्ने खर्च, भुक्तानी प्रक्रिया, सुरक्षित रूपमा जाने विधि तथा सम्बन्धित निकायका आधिकारिक सम्पर्क विवरण समावेश छन्।
यसैबीच मन्त्रालयले हरेक वर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रवासन दिवस नेपालमा पनि साप्ताहव्यापी रूपमा मनाउने तयारी गरेको छ। पुस १ देखि ७ गतेसम्म ‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने नाराका साथ २५औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइने सचिव पुस्करले जानकारी दिए।




प्रतिक्रिया !