लोक आवाज ,
जनकपुरधाम, १० असार । कलाकार अभिनास झा (कलकतियाबाली) की श्रीमती अँसा सदा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को सिमानास्थित नोचापुरमा मृत अवस्थामा फेला परेकी छन्। सोमबार राति भएको यो घटनाले क्षेत्रमै सनसनी फैलिएको छ।
गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदाले सामाजिक सञ्जालमार्फत गृहप्रवेशको खुसी साटेका थिए। विवाहपछि उनीहरू लगातार सामाजिक सञ्जालमा सक्रिय रहँदै आएका थिए, रिल्स, फोटो तथा भिडियोमार्फत सम्बन्ध सुदृढ रहेको देखाउँथे। तर, सोमबार रातिको यो घटनाले त्यो छवि एकाएक धुमिल बनाएको छ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वरुण बहादुर सिंहका अनुसार, घटना सोमबार रातिको हो र प्रारम्भिक अनुसन्धानबाट अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेको पुष्टि भएको हो। घटनास्थल नोचापुरस्थित एक सुटिङ स्थल नजिकै भएको र प्रहरी टोलीले त्यस स्थानलाई नियन्त्रणमा लिएर प्रारम्भिक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए।
यस घटनाबारे प्रहरीले गम्भीर ढंगमा अनुसन्धान अगाडि बढाएको छ। अँसा सदाले आत्महत्या गरेको प्रारम्भिक आशंका गरिए पनि, पोस्टमार्टम नभएसम्म यसलाई पुष्टि गर्न नसकिने प्रहरीको भनाइ छ।
कलाकार अभिनास झा भने घटनापछि स्पष्ट रुपमा बोल्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा झण्डै हरेक दिन साझा हुने उनीहरूको भिडियो अन्तिमपटक २०८२ साल जेठ ३० गते (१३ जुन २०२५) मा मात्र देखिएको छ। त्यसपछि दुवैले कुनै पनि सामग्री पोस्ट नगरेको तथ्यले उनीहरूबीच केही तनाव भएको आशंका गरिएको छ।
सामाजिक सञ्जालमा अँसा सदाले केही भावुक पोस्टहरू गरेको देखिएको थियो भने पछिल्लो समय उनी सार्वजनिक रूपमा देखिन पनि छाडेकी थिइन्।
सार्वजनिक प्रतिक्रियामा केही स्थानीयले घटनाको निष्पक्ष अनुसन्धानको माग गरेका छन्। नोचापुर क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारणको भीड लागेको थियो, जहाँ स्थानीय कलाकारहरूको पनि उल्लेखनीय उपस्थिति देखिएको थियो।
यो घटनाले अन्तरजातीय विवाह र कलाकारहरूको निजी जीवनलाई लिएर सामाजिक सञ्जालमा पुनः बहस सुरु गराएको छ। केहीले विवाहपछि बढ्दो सामाजिक दबाब तथा व्यक्तिगत मतभेदले यस्तो दुःखद अन्त्य गराएको हुन सक्ने प्रतिक्रिया दिएका छन्।
अहिलेसम्म घटनाबारे पूर्ण निष्कर्ष नआए पनि प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धानको प्रतिबद्धता जनाएको छ। माइती पक्ष आएपछि पोष्टमार्टम रिपोर्ट र थप विवरण सार्वजनिक गरिने जानकारी दिइएको छ।
अहिले जनकपुरमा यो घटनाले सामाजिक तथा सांस्कृतिक रूपमै चासोको विषय बनेको छ। परिवार, मित्र र समर्थकहरूले मृत आत्माको चीरशान्तिको कामना गर्दै न्यायको माग गरेका छन्।




प्रतिक्रिया !