लोक आवाज ,
जनकपुरधाम २४ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्ने आफ्नो ध्येय स्पष्ट गरेका छन्। महोत्तरीको मनराशिश्वा नगरपालिकामा शुक्रबार आयोजित सभामा देउवाले आफू फेरि प्रधानमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै देशलाई बलियो बनाउने दृढ संकल्प व्यक्त गरेका छन्।
भारतीय सीमावर्ती मनराशिश्वा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री देउवाले वर्तमान सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेकाले आफू ओलीपछि प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताए। उनले भने, “अहिले एउटा पार्टीको सरकार बन्न निकै गाह्रो छ। त्यसकारण दुईवटा पार्टी मिलेर सरकार बनाएको हो। अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, त्यसपछि कांग्रेसबाट प्रधानमन्त्री बन्ने हो।”
सभापति देउवाले आफू पदको लोभी नेता नभएको र प्रधानमन्त्रीको पदमा धेरै पटक बसिसकेको बताएका छन्। उनले छैटौँ पटक प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउँदै भने, “म पद ओगट्न चाहने नेता होइन। धेरै पटक प्रधानमन्त्री भइसकेको छु। अब फेरि प्रधानमन्त्री बन्ने सम्भावना छ। मेरो लक्ष्य बलियो र सुदृढ नेपाल निर्माण गर्ने हो।”
देउवाले जलवायु परिवर्तनको चुनौतिबारे पनि धारणा राख्दै नेपालमा यसको प्रत्यक्ष असर देखिएको बताए। “खडेरी, हिमाल र हिउँ पग्लिने क्रम बढ्दै छ। त्यसैले नेपालका सबै राजनीतिक दलहरू जलवायु परिवर्तनको सवालमा एकमत हुनुपर्छ,” उनले भने।
सभापति देउवाले स्थानीय तह जनतासँग सोझो सरोकार राख्ने पहिलो तहको सरकार भएको बताएका छन्। उनले भने, “स्थानीय तह जनताको पहुँचको पहिलो सरकार हुन्। यहाँबाट दिइने सेवा प्रविधिमैत्री र सरल हुनुपर्छ, जसले जनप्रतिनिधिहरू र कार्यालयहरूको छवि सकारात्मक बनाउनेछ।”
जनप्रतिनिधिहरूले दैनन्दिन काममा जनतासँग सोझो सरोकार राख्ने हुँदा प्रभावकारी सेवा प्रवाह गर्न उनीहरू दत्तचित्त भएर लाग्नुपर्ने देउवाको सुझाव थियो।
कांग्रेस सभापति देउवाले पार्टी ठूलो भए पनि हाल बहुमत नभएको स्वीकार गर्दै पार्टीलाई एकढिक्का बनाएर अगाडि बढे आगामी चुनावमा एक्लै सरकार बनाउन सक्ने अवस्था आउने बताएका छन्। उनले कांग्रेसको लक्ष्य देशलाई बलियो बनाउनु रहेको र यसका लागि आगामी निर्वाचनमा राम्रो तयारी आवश्यक भएको बताए।
सभापति देउवाको यो भनाइले छैटौँ पटक प्रधानमन्त्री बन्ने उनको आकांक्षालाई स्पष्ट पारेको छ। जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहको महत्त्वलाई उनले पुनः जोड दिएका छन्।




प्रतिक्रिया !