धनुषामा फरार ६ जना प्रतिवादी पक्राउ,

धनुषामा फरार ६ जना प्रतिवादी पक्राउ,

लोक आवाज ,
जनकपुरधाम, भदौ ८ ।
धनुषा प्रहरीले अदालतबाट कैद तथा जरिवानाको फैसला भएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विभिन्न मुद्दामा अदालतबाट फैसला भएका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये कुटपिट मुद्दामा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका एक जना छन्। यस्तै, सवारी ज्यान मुद्दामा २८ दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका अर्का एक जना पक्राउ परेका छन्।

त्यसैगरी, डाका मुद्दामा ६ वर्ष २८ दिन कैद तथा ९ लाख ४५ हजार ४५० रुपैयाँ जरिवाना तोकिएका एक जना र अवैध विदेशी मुद्रा कारोबार मुद्दामा ९ लाख १६ हजार ६६६ रुपैयाँ जरिवाना तोकिएका एक जना पनि पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २ वर्ष कैद तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद सजाय तोकिएका एक–एक जना फरार प्रतिवादीलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि धनुषा जिल्ला अदालतमा पेश गरिएको छ। अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई प्रहरीले निरन्तरता दिइरहेको जनाएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार