लोक आवाज ,
महोत्तरी, ११ जेठ । महोत्तरीको जलेश्वर कारागार अहिले सुरक्षा चुनौती र कमजोर पूर्वाधारको दोहोरो समस्याबाट गुज्रिरहेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेको कारागार प्रशासनले जनाएको छ ।
जलेश्वर नगरपालिका–२ स्थित उक्त कारागारबाट फरार भएकामध्ये हालसम्म ३२६ जना मात्रै फर्किएका छन् । कारागार प्रमुख अशोककुमार क्षेत्रीका अनुसार केही कैदीबन्दी अझै स्वेच्छाले फर्किने क्रममा रहेका छन् ।
भागेकामध्ये ४० जना भारतीय नागरिकसमेत थिए । हालसम्म ३१६ नेपाली र १० भारतीय नागरिक पुनः कारागारमा फर्किएको प्रशासनले जनाएको छ । सीमावर्ती क्षेत्रमा भारतीय प्रहरीले पक्राउ गरेका १३ जनालाई नेपाल फर्काएर कारागार प्रशासनलाई बुझाइएको थियो ।
प्रशासनले फरार कैदीबन्दीलाई आश्रय वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ । कारागार ऐन, २०७९ अनुसार फर्किएका कैदीबन्दीमाथि थप कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ ।
वि.सं. १९१३ मा निर्माण गरिएको जलेश्वर कारागार देशकै पुराना कारागारमध्ये एक हो । करिब २०० जनाको क्षमता रहेको कारागारमा अहिले त्यसको दोब्बरभन्दा बढी कैदीबन्दी राखिँदै आएको छ ।
धनुषा, महोत्तरीलगायत जिल्लाका कैदीबन्दी तथा अन्य जिल्लाबाट ल्याइने थुनुवासमेत यही कारागारमा राख्नुपर्दा व्यवस्थापनमा थप चाप परेको प्रशासनको भनाइ छ । वर्षायाम नजिकिँदै जाँदा डुबानको जोखिमले समेत चिन्ता बढाएको छ ।
कारागार प्रमुख क्षेत्रीका अनुसार अत्यधिक भीडका कारण औषधि व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ । बजेट अभावले आवश्यक औषधि समयमै उपलब्ध गराउन कठिन भइरहेको उनले बताए ।
पुरानो संरचना र भीडभाडका कारण संक्रमण फैलिने जोखिम बढेको तथा बिरामी कैदीबन्दीलाई समयमै उपचार उपलब्ध गराउन चुनौती रहेको प्रशासनको भनाइ छ ।
पूर्व कैदीबन्दीहरूले पनि कारागारभित्रको अवस्था सुधार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले मनोरञ्जन, पुस्तकालय, खेलकुद तथा सीपमूलक तालिमको अभावले कैदीबन्दी मानसिक तनाव र एक्लोपनको समस्यामा पर्ने गरेको बताएका छन् ।
जलेश्वर नगरपालिका–२ मा करिब ६ बिघा जग्गा उपलब्ध भए पनि आधुनिक कारागार भवन निर्माणको काम अझै अघि बढ्न सकेको छैन । प्रशासनका अनुसार नयाँ संरचना बने कैदीबन्दी व्यवस्थापनसँगै सुधारमुखी कार्यक्रम सञ्चालन गर्न सहज हुने थियो ।
यसैबीच, महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले फरार कैदीबन्दीको खोजी कार्य निरन्तर जारी रहेको बताएका छन् । उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकाय परिचालित छन् ।
स्थानीय नागरिक समाजका अगुवा राकेश चौधरी ले पुरानो संरचना र सीमित स्रोतसाधनका कारण कारागार व्यवस्थापन जटिल बन्दै गएको बताए । उनले नयाँ भवन निर्माण र सुधारमुखी कार्यक्रम सञ्चालनलाई आवश्यक ठानेका छन् ।
पुरानो संरचना, अत्यधिक भीड, औषधि अभाव र सुरक्षा चुनौतीका बीच जलेश्वर कारागार सुधारको प्रतीक्षामा रहेको स्थानीयको भनाइ छ ।




प्रतिक्रिया !