नेपोबेबी बहसमा प्रचण्डको कटाक्ष: “को को रहेछन्, जनताले छिट्टै बुझ्छन्”

नेपोबेबी बहसमा प्रचण्डको कटाक्ष: “को को रहेछन्, जनताले छिट्टै बुझ्छन्”

लोक आवाज ,

काठमाडौँ ,०९ बैशाख – पुष्पकमल दाहाल ले ‘नेपोबेबी’ बहसलाई लिएर लक्षित समूहप्रति कटाक्ष गर्दै वास्तविकता छिट्टै सार्वजनिक हुने बताएका छन्। ७७औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै ‘नेपोबेबी’ भन्नेहरू आफैंबारे पनि अब प्रश्न उठ्न थालेको उल्लेख गरे। हालका शिक्षामन्त्री सस्मित पोखरेल लगायत केही नेतामाथि सार्वजनिक रूपमा यस्ता आरोप लाग्दै आएको सन्दर्भमा प्रचण्डले व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए।

जेनजी आन्दोलनका क्रममा विगतमा पुराना दलहरू—कांग्रेस, एमाले तथा नेकपाका नेताहरूका सन्तानलाई लक्षित गर्दै ‘नेपोबेबी’ र ‘नेपोकिड्स’ भन्ने आरोप लाग्ने गरेको स्मरण गर्दै उनले अहिले त्यही प्रवृत्ति नयाँ शक्तिमा पनि देखिन थालेको संकेत गरे।

“अहिले नयाँ भन्नेहरूको हावाहुरी चलेको छ, नयाँलाई हामीले पनि महत्व दिन चाहन्छौँ,” उनले भने, “तर पछिल्लो समय आएका केही समाचारहरूले स्थिति रोचक बनाउँदै लगेका छन्। जसले अरूलाई नेपोबेबी, करप्सन भनेर आरोप लगाउँथे, अब उनीहरू नै को हुन् भन्ने कुरा विस्तारै देखिन थालेको छ।”

प्रचण्डले अब जनताले यस्ता विषयको यथार्थ चाँडै बुझ्ने विश्वास व्यक्त गरे। “जनताले बुझ्ने दिन टाढा छैन। हामी त्यसका लागि तयार रहनुपर्छ,” उनले भने, “राम्रा दिन आउँदैछन्।”

उनले पार्टीलाई पुनः सुदृढ बनाउँदै जनतासँग नजिकिनुपर्ने आवश्यकता औंल्याउँदै पुराना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए। “धुलोमैलो टकटक्याउँदै, फोहोर सफा गर्दै फेरि जनतामाझ फर्कनुपर्छ,” उनले बताए।

उनको यस अभिव्यक्तिलाई पछिल्लो राजनीतिक बहस, विशेषतः नयाँ र पुराना शक्तिबीचको आरोप–प्रत्यारोपको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार