लोक आवाज ,
काठमाडौँ , ०९ बैशाख – सुधन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएपछि कर्मचारीहरूसँग बिदावारी गर्दै बुधबार साँझ गृह मन्त्रालयबाट बाहिरिएका छन्। दिउँसो राजीनामा दिएका उनी साँझ करिब सवा ५ बजेतिर मन्त्रालय परिसरबाट निस्किएका हुन्।
मन्त्रालयबाट बाहिरिँदै गर्दा गुरुङ हँसिलो देखिए पनि उनले सञ्चारकर्मीहरूसँग कुनै प्रतिक्रिया दिएका छैनन्। पछिल्लो समय सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका विवादित व्यापारी दीपक भट्ट सँग उनको व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी दबाबमा परेका थिए। सोही विवादपछि उनले पदबाट राजीनामा दिन बाध्य भएको बताएका थिए।
राजीनामा बुझाउनुअघि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह सँग मन्त्रिपरिषद् कार्यालयमा भेट गरेका थिए। त्यसपछि उनी गृह मन्त्रालय फर्किएर कर्मचारीहरूसँग औपचारिक बिदाइ भेट गरेका थिए। भेटका क्रममा उनले सहकर्मीहरूसँग संक्षिप्त संवाद गर्दै सहयोगका लागि धन्यवाद दिएका स्रोतले जनाएको छ।
बिदाइ भेट सकेपछि गुरुङ आफूले प्रयोग गर्दै आएको रातो गाडी आफैं चलाएर मन्त्रालयबाट बाहिरिएका थिए। बाहिरिँदा उनको अनुहारमा तनावभन्दा पनि सहजता र सन्तुलित भाव देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यसअघि मंगलबार राति करिब साढे पाँच घण्टा गृह मन्त्रालयमा उच्च सुरक्षा अधिकारीहरूसँग भएको लामो छलफलपछि बाहिरिँदा भने गुरुङ थकित र दबाबमा देखिएका थिए। तर राजीनामापछि सार्वजनिक रूपमा देखिँदा उनी तुलनात्मक रूपमा प्रसन्न देखिनु अर्थपूर्ण रूपमा हेरिएको छ।
गुरुङको राजीनामासँगै अहिले गृह मन्त्रालयको नेतृत्व र आगामी राजनीतिक समीकरणबारे चर्चा सुरु भएको छ।



प्रतिक्रिया !