लोक आवाज ,
सिरहा , १० चैत । यहाँको गोलबजार नगरपालिकाबाट प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–५ का २५ वर्षीय अनिल चौधरी र लहान नगरपालिका–१ भाइरलबावा टोल घर भई हाल गोलबजार–४ निपानेस्थित ससुराली घरमा बस्दै आएका ३३ वर्षीय बलिराम महतो रहेका छन्।
सोमबार राति गोलबजार–४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारको संयुक्त टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका अनिल चौधरीलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ज्याकेटको खल्तीबाट एक ग्राम खैरो हिरोइन फेला पारेको थियो। सोधपुछका क्रममा चौधरीले उक्त पदार्थ आफूलाई बलिराम महतोले बिक्री गर्न दिएको बताएका थिए।
उनकै बयानका आधारमा प्रहरी टोली राति नै बलिराम महतो बस्दै आएको निपानेस्थित ससुराली घर पुगेको थियो। घर खानतलासी गर्दा दराजमा लुकाइछिपाइ राखिएको अवस्थामा १० ग्राम २५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रहरीले महतोको साथबाट नगद २० हजार ३१० रुपैयाँ, एक थान ओप्पो मोबाइल, पाँच थान चुरोट, दुई थान लाइटर र दुई टुक्रा ब्लेडसमेत बरामद गरेको छ।
दुवै जनाको साथबाट जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।



प्रतिक्रिया !