जानकी मन्दिर क्षेत्र संरक्षित स्मारक क्षेत्र घोषणा,

जानकी मन्दिर क्षेत्र संरक्षित स्मारक क्षेत्र घोषणा,

लोक आवाज ,

जनकपुरधाम , ०२  असोज । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक धरोहर जानकी मन्दिर आसपासको क्षेत्रलाई सरकारले ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ३ को उपदफा ४ बमोजिम जानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार संरक्षित क्षेत्रको चार किल्ला निर्धारण गरिएको छ । पूर्वतर्फ भानु चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय हुँदै दक्षिणतर्फ जाने परिक्रमा पथसम्मको क्षेत्र समेटिएको छ ।

पश्चिमतर्फ भमरपुरा चोकदेखि पश्चिमतर्फ जाने श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकूप, हनुमान मन्दिर हुँदै उत्तरतर्फ जाने परिक्रमा पथसम्मको क्षेत्रलाई सीमाभित्र राखिएको छ ।

त्यसैगरी, उत्तरतर्फ हनुमान मन्दिर, पिडारी चोकस्थित राजा जनक स्मारक, मधेश प्रदेश भवन, मिल्स एरिया हुँदै भानु चोकसम्मको परिक्रमा पथको सडक सीमा निर्धारण गरिएको छ ।

दक्षिणतर्फ भने मुरली चोकस्थित विद्यापति स्मारकदेखि भमरपुरा चोकसम्म जाने परिक्रमा पथको सडकलाई सीमा तोकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले निर्धारण गरेको चार किल्लाभित्र पर्ने क्षेत्र अब प्राचीन स्मारक संरक्षणसम्बन्धी कानुनी व्यवस्थाअनुसार संरक्षण तथा व्यवस्थापनको दायरामा आउनेछ । यससँगै जानकी मन्दिर वरपरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र विकासमा कानुनी आधार थपिएको छ ।

जानकी मन्दिर मिथिला सभ्यता, धार्मिक आस्था र जनकपुरधामको सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएकाले यसको आसपासको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिएको हो ।

मन्त्रालयको उक्त सूचना असोज १ गते प्रकाशित नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३४ मा समावेश गरिएको छ ।

Related Tag :

प्रतिक्रिया !

सम्बन्धित समाचार