काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई अब पुरानै मूल्यमा एलपी ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरेको छ ।
सङ्घले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले निर्धारण गरेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै ग्यास बिक्री वितरण गर्न उद्योगीलाई आग्रह गरेको हो ।
भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्दै आएका थिए । त्यसक्रममा उपत्यकाबाहिर रहेका उद्योगबाट ग्यास रिफिल गरी ल्याउनुपर्दा ढुवानी खर्च बढेको भन्दै उद्योगीहरूले उपभोक्ताबाट प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त रकम लिँदै आएका थिए ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्दै आएका उद्योगहरूले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा रहेका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै ग्यास ल्याउँदै आएका थिए ।
सडक अवरोधका कारण अतिरिक्त ढुवानी खर्च व्यहोर्नुपरेपछि उपभोक्ताबाट थप रकम लिइएको सङ्घले जनाएको छ । अहिले पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीहरूलाई आग्रह गरिएको सङ्घले स्पष्ट पारेको छ ।



प्रतिक्रिया !