जनकपुरधाम, ०१ असोज । आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि धनुषाका १८ स्थानीय तहमध्ये १२ वटा पालिकाको आर्थिक खाता सञ्चालनमा आउन सकेको छैन ।
कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाका अनुसार भदौ ३१ गतेसम्म जिल्लाका ६ वटा स्थानीय तहले मात्रै आर्थिक खाता सञ्चालन गरेका छन् । खाता सञ्चालन भएका स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, गणेशमान चारनाथ नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, जनकनन्दनी गाउँपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन् ।
बाँकी स्थानीय तहले खाता सञ्चालनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा नगरेका कारण आर्थिक कारोबार सुरु हुन नसकेको कार्यालयले जनाएको छ ।
स्थानीय तहको आर्थिक खाता सञ्चालनका लागि गाउँसभा वा नगरसभाबाट बजेट पारित, विनियोजन ऐन तथा अख्तियारी, स्वीकृत वार्षिक कार्यक्रम र जिन्सी निरीक्षणलगायतका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ । ती प्रक्रिया पूरा भएपछि मात्रै स्थानीय तहको आर्थिक कारोबार सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ ।
आर्थिक खाता सञ्चालन हुन नसकेका स्थानीय तहमा मिथिला, क्षिरेश्वरनाथ, मिथिला बिहारी, धनुषाधाम, कमला, नगराइन, हंसपुर, सबैला, शहीदनगर र विदेह नगरपालिका तथा बटेश्वर र मुखियापट्टी मुसहरनिया गाउँपालिका रहेका छन् ।
नयाँ आर्थिक वर्ष सुरु भएको लामो समयसम्म आर्थिक खाता सञ्चालनमा नआउँदा सम्बन्धित पालिकाको बजेट कार्यान्वयन, विकास योजना सञ्चालन तथा विभिन्न शीर्षकमा हुने भुक्तानी प्रक्रियामा समेत असर पर्ने देखिएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले सम्बन्धित स्थानीय तहले आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेपछि मात्रै आर्थिक खाता सञ्चालन गर्न सकिने स्पष्ट पारेको छ ।



प्रतिक्रिया !