लोक आवाज ,
काठमाडौं, २८ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाएर सम्भावित विपद् रोक्न सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अति उच्च जोखिममा रहेका हिमतालको जलसतह वैज्ञानिक तथा नियन्त्रित विधिबाट घटाउने विषयमा मन्त्रालयले गृहकार्य अघि बढाएको जानकारी दिए।
उनका अनुसार जोखिममा रहेका हिमतालमा आवश्यक परे नियन्त्रित रूपमा ब्लास्टिङ गरी पानीको निकास गर्ने विषयमा समेत छलफल भइरहेको छ। जोखिमपूर्ण हिमतालको पानी सुरक्षित रूपमा पास गराएर सम्भावित विपद्बाट तल्लो तटीय क्षेत्रलाई जोगाउनुपर्ने उनको भनाइ छ।
‘जोखिममा रहेका हिमतालको पानीको सतह घटाएर सुरक्षित रूपमा निकास गर्ने विषयमा छलफल भइरहेको छ। जोखिमपूर्ण हिमताललाई वैज्ञानिक ढंगले व्यवस्थापन गरी जोखिममुक्त गर्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीमा सरकार गम्भीर छ। तयारी पूरा भएपछि आवश्यक निर्णय लिइनेछ।’
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि हुँदै जाँदा हिमतालको आकार र पानीको मात्रा बढ्ने तथा हिमताल विस्फोटनको जोखिमसमेत बढ्दै गएको विज्ञहरूले बताउँदै आएका छन्।
गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्ययनअनुसार मनाङको थुलगी, दोलखाको रोल्पा, सोलुखुम्बुको इम्जा र चो–रोल्पालगायत कम्तीमा २१ हिमताललाई अति उच्च जोखिमयुक्त सूचीमा राखिएको छ।
यसअघि नेपाली सेनाको प्राविधिक टोलीले इम्जा र रोल्पा हिमतालको पानीको सतह नियन्त्रित रूपमा घटाएको थियो। उक्त अभ्यासबाट आसपासका बस्ती, तटीय क्षेत्र तथा जलविद्युत् आयोजनामा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुगेको थियो।
सोही अनुभवका आधारमा सरकारले अन्य अति जोखिमपूर्ण हिमतालको जलसतह घटाउने तथा सम्भावित हिमताल विस्फोटनबाट हुने क्षति न्यूनीकरणका लागि कार्ययोजना अघि बढाउने तयारी गरेको हो।



प्रतिक्रिया !