लोक आवाज ,
काठमाडौं, ११ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्यलाई तीव्र पारिएको छ।
नेपाल प्रहरीले बिहीबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा परी २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको खोजीका लागि प्रहरी टोली निरन्तर परिचालन भइरहेको छ।
बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि ४ हजार ३८४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। तीमध्ये खोज तथा उद्धारका लागि मात्रै ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लामा हालसम्म ३५८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये रसुवामा १७, धादिङमा ३३, गोरखामा ३०, नवलपरासी पूर्वमा ८२, नुवाकोटमा २८, चितवनमा १३२, तनहुँमा २२ र नवलपरासी पश्चिममा १५ जना रहेका छन्।
यसैगरी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा घाइते भएका ६३ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरूमध्ये ३१ जना त्रिवि शिक्षण अस्पताल, २२ जना ट्रमा सेन्टर, दुई जना नर्भिक अस्पताल, दुई जना वीर अस्पताल र दुई जना मनमोहन अस्पतालमा उपचाररत छन्। त्यस्तै ग्रान्डी, मनमैजु शुभम्, ग्रिन सिटी र वीरेन्द्र सैनिक अस्पतालमा एक–एक जना उपचाररत रहेको प्रहरीले जनाएको छ।
सम्पर्कविहीन प्रहरी कर्मचारी तथा बाढीमा हराइरहेका अन्य व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उद्धारसँगै प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था र राहत वितरणलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ।



प्रतिक्रिया !